close

इन्टरनेट समस्याले के नेपालमा भइरहेको अन्तर्राष्ट्रिय पब्जी प्रतियोगिता रोकिएला ?

टेकपाना टेकपाना

जेठ ११, २०८१ १५:५८

इन्टरनेट समस्याले के नेपालमा भइरहेको अन्तर्राष्ट्रिय पब्जी प्रतियोगिता रोकिएला ?

काठमाडौं । बुधवारदेखि काठमाडौंमा आयोजना भइरहेको अन्तर्राष्ट्रिय पब्जी प्रतियोगिता ‘पब्जी मोबाइल सुपर लिग (पीएमएसएल) सेन्ट्रल एण्ड साउथ एसिया स्प्रिङ २०२४’ इन्टरनेटका कारण प्रभावित नहुने भएको छ ।

वर्ल्डलिङ्क, भायानेट लगायतका इन्टरनेट सेवामा शुक्रवार बिहानदेखि समस्या देखिएपछि पीएमएसएल प्रभावित हुने आशंका गरिएको थियो । तर आयोजकले खेल सञ्चालनमा इन्टरनेटको कुनै अवरोध नहुने गरी व्यवस्था मिलाइएको जनाएको छ ।

सुनौली नाकामा भारतीय अपस्ट्रिम सेवाप्रदायक भारती एयरटेलको अप्टिकल फाइबरमा चुहावट हुँदा शुक्रवार केही सेवाप्रदायकको सेवा प्रभावित भएको छ । आयोजकले भने खेल दौरान इन्टरनेट समस्या नहुने प्रष्ट पारेको छ ।

प्रतियोगितामा नेपालसहित बङ्गलादेश, पाकिस्तान, सीआईएस, उज्वेकिस्तान, युक्रेन, रसिया र मङ्गोलियाका गरी कुल २० टिमले प्रतिस्पर्धा गर्दैछन् । नेपालबाट डीआरएस गेमिङ र होरा ई-स्पोर्ट्सले यो प्रतियोगिता खेल्दैछन् । 

करिब साढे दुई करोड रुपैयाँ पुरस्कार राशिको यस प्रतियोगितामा अहिले पहिलो साताको खेल चलिरहेको छ ।

पहिलो साताको दोस्रो दिनको खेल सकिँदा ११६ पोइन्ट ल्याएर मङ्गोलियन टिम आईएचसी ई-स्पोर्ट्स अङ्क तालिकाको पहिलो स्थानमा छ । नेपाली टिम डीआरएस गेमिङ छैटौं र होरा ई-स्पोर्ट्स १४ औ स्थानमा रहेका छन् ।

अङ्क तालिकाको पहिलो स्थानमा रहेको आईएचसी ई-स्पोर्ट्सले १२ गेम खेलि सक्दा दुवै नेपाली टिम ६-६ खेल मात्र खेलेका छन् ।

डीआरएस गेमिङले बिहीवार एक चिकेन डिनर सहित ६३ पोइन्ट ल्याएर पहिलो हप्ताको उत्कृष्ट सुरुवात गरेको थियो । होरा ई-स्पोर्ट्सको भने ३६ पोइन्ट मात्र रहेको छ । 

प्रतियोगितामा शीर्ष चारभित्र पर्ने टिमले ‘पब्जी मोबाइल वर्ल्डकप २०२४’ को समूह चरणमा स्थान बनाउने छन् भने पाँचौं स्थानमा रहने टिमले ‘पब्जी मोबाइल वर्ल्डकप २०२४’ को सर्भाइबल चरणमा खेल्न पाउनेछ ।

यो प्रतियोगिताको लिग चरणको लागि ४० हजार डलर र फाइनल चरणका लागि एक लाख १५ हजार डलर पुरस्कार राशि राखिएकाे छ । यसबाहेक हरेक चिकेन डिनर र हप्तासँगै प्रतियोगिताको मस्ट भ्यालुएबल खेलाडीलाई पनि पुरस्कार दिइने बताइएको छ ।

आयोजकका अनुसार प्रतियोगिताको कुल राशि दुई लाख डलर (करिब दुई करोड ६७ लाख रुपैयाँ) रहेकाे छ ।

खेल बेलुका ४:४५ देखि सुरु हुनेछ । आजको खेलमा दुवै नेपाली टिम डीआरएस गेमिङ र होरा ई-स्पोर्ट्स खेल्दैछन् । जसको लाइभ ‘पब्जी मोबाइल ई-स्पोर्ट्स’को फेसबुक पेज तथा युट्युब च्यानलबाट हेर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: जेठ ११, २०८१ १६:६