काठमाडौं । फोनको ख्याल जतिसुकै राम्रोसँग प्रयोग गरे पनि एक समय परिवर्तन गर्नै पर्छ । कतिपयले सोखले अनि केहीले बाध्यताले फोन परिवर्तन गरिरहेका हुन्छन् । आज हामी त्यस्ता १० सङ्केतको चर्चा गर्दैछौं, जसले गर्दा तपाईंलाई फोन नयाँ लिने वा नलिने भन्ने निर्णय लिन मद्दत गर्न सक्छन् ।
१) फोन धेरै स्लो हुन थालेपछि
फोन प्रयोग गर्दै जाँदा एउटा समयमा आएर स्लो चल्न थाल्छ । यसका पछाडिका थुप्रै कारणहरू हुन सक्छन् । फोन स्लो हुँदा त्यसले धेरै कुरामा फरक पार्छ । खासगरी तपाईंले कल गर्दा, सामाजिक सञ्जाल प्रयोग गर्दा, वेबसाइट स्क्रोल गर्दा स्लो चल्यो भने त्यसले तपाईंको युजर एक्सपिरियन्स नै खल्लो बनाउँछ । फोन स्लो भएका सङ्केत तल निम्नअनुसार छन् ।
फोन एक्कासि चल्न छोड्नु । खासगरी एप खोल्दा, सामाजिक सञ्जाल चलाउँदा वा टाइपिङ गर्दा फोन फ्रिज अर्थात् स्क्रिन जहाँको त्यहीँ स्थिर भएर बस्ने भइरहेको छ भने तपाईंको फोन स्लो भएको छ ।
एप खुल्नै समय लाग्ने ।
दुई ओटा एपबिच स्विच गर्दा समय लाग्ने ।
टाइप गरेको कुरा स्क्रिनमा देखिन समय लाग्ने ।
एप प्रयोग गर्दा गर्दै एक्कासि बन्द हुने ।
दुई वा सोभन्दा बढी एप ब्याकग्राउन्डमा नचल्ने ।
सामान्य फाइल लोड हुन पनि समय लाग्ने ।
२) अपडेट उपलब्ध नभएमा
स्मार्टफोन निर्माता कम्पनीले फोन सीमित समयसम्म मात्र अपडेट हुने गरी निर्माण गरेका हुन्छन् । विशेषगरी फोनमा नयाँ नयाँ फिचर उपलब्ध गराउन र फोनलाई सुरक्षित राख्नका लागि अपडेट उपलब्ध गराइएको हुन्छ । तर, सधैं फोनमा भएको हार्डवेयरले सफ्टवेयर सपोर्ट गर्छ भन्ने हुँदैन । समयसँगै हार्डवेयर पुरानो हुँदै जाँदा त्यसले नयाँ अपडेट धान्न सक्दैन । त्यसैले गर्दा स्मार्टफोन निर्माता कम्पनीले तोकिएको समयपछि अपडेट उपलब्ध गराउँदैनन् । अपडेट नआए निम्न अनुसारका समस्या आउन सक्छन् ।
सेक्युरिटी अपडेट नपाउँदा फोनले नयाँ नयाँ किसिमका मालवेयर, भाइरस र ह्याकिङ प्रविधि पहिचान गर्न सक्दैन । यस्तो हुँदा फोनमा विभिन्न एपको सहायताले मालवेयर तथा भाइरस प्रवेश गर्छन् र डिभाइस बिग्रिन्छ ।
अधिकांश स्मार्टफोन पछिल्लो भर्सनको अपरेटिङ सिस्टममा उपयुक्त हुने गरी डिजाइन गरिएका हुन्छन् । त्यस्तै डेभलपरले पनि एप नयाँ नयाँ अपरेटिङ सिस्टममा सपोर्ट हुने गरी डिजाइन गर्छन् । यदि फोनमा रहेको अपरेटिङ सिस्टम पुरानो भयो, तर एप नयाँ संस्करणको अपरेटिङ सिस्टममा मात्र सपोर्ट हुने किसिमको छ भने तपाईंले उक्त एप प्रयोग गर्न सक्नुहुन्न ।
अपडेटसँगै कम्पनीले फोनको पर्फमेन्स, ब्याट्री इफिसेन्सी र बग सुधार गरेर पठाएका हुन्छन् । यदि अपडेट नै आएन भने यी सुविधा छुट्छन् ।
एप जस्तै नयाँ एक्सेसरिज पनि पुरानो अपरेटिङ सिस्टममा सपोर्ट नगर्ने किसिमका हुन्छन् ।
तपाईंले माथि उल्लेख भएका कुनै पनि समस्याको समाना गर्नु परेको छ भने तपाईंले नयाँ फोन लिंदा उपयुक्त हुन्छ ।
३) स्क्रिनको समस्या
स्क्रिनको समस्या भन्ने बित्तिकै ग्लास फुटेको समस्या भन्ने होइन । यदि ग्लास फुटेको छ भने त्यसलाई परिवर्तन गरेर पुरानै फोन प्रयोग गर्न सक्नुहुन्छ । त्यसबाहेक डिस्प्लेमा अन्य कुनै समस्या जस्तै टच सपोर्ट नुहुने, स्क्रिन फ्लिकर हुने लगायताका समस्या देखिएका छन् भने फोन प्रयोग गर्न सकस नै हुन्छ । यस्तोमा कम शुल्कमै मर्मत गर्न सकिने भयो भने मर्मत गर्न सक्नुहुन्छ । तर शुल्क बढी लाग्ने रहेछ भने तपाईंले नयाँ फोन लिंदा उपयुक्त हुन्छ ।
पछिल्लो समय स्क्रिनमा चोट पर्यो वा कम्पनीले खराब अपडेट पठायो भने स्क्रिनमा लाइन वा डट देखिने समस्या आइरहेको हुन्छ । त्यस्तो लाइनले खासै समस्या ननिम्त्याउने भए पनि अनुभव भने खल्लो बनाउँछ । त्यसैले स्क्रिनको समस्या ख्याल गरी मर्मत गर्ने वा नयाँ फोन लिने भन्ने निर्णय लिन सक्नुहुन्छ ।
४) क्यामेरामा समस्या
स्मार्टफोनको सबैभन्दा राम्रो सुविधा नै क्यामेरा हो । विभिन्न प्रयोजनका लागि फोटो वा भिडिओ खिच्न अहिले फोन नै बढी मात्रामा प्रयोग भइरहेको हुन्छ । यदि तपाईंको डिभाइसमा भएको क्यामेरामा समस्या आयो भने फोन परिवर्तन गर्न सक्नुहुन्छ । ग्लास स्क्रयाच भएको छ वा धुलो परेको छ भने त्यस्तोमा मर्मत गरेरै समाधान गर्न सकिन्छ । तर, क्यामेरा मर्मत गर्दा पनि नबन्ने भयो, फोटो मधुरो देखाउन थाल्यो, क्यामेरा एप नै खुल्न छोड्यो, प्रयोग गर्दा गर्दै बीचमै बन्द भयो भने फोन नयाँ लिंदा उपयुक्त हुन्छ । फोन अनुसार क्यामेरा मर्मत गर्ने शुल्क निर्धारण हुने भएकाले पनि तपाईंले खर्च हेरेर नयाँ फोन लिने वा त्यही फोन मर्मत गर्ने भन्ने निर्णय लिन सक्नुहुन्छ ।
५) साउन्डको समस्या
फोनको मुख्य काम मध्येको एक हो, कल गर्नु । यसका लागि फोनमा भएको स्पिकर र माइक्रोफोन दुवै ठीक अवस्थामा हुनुपर्छ । त्यसबाहेक भ्वाइस नोट सेभ गर्नुपर्यो, साउन्ड रेकर्ड गर्नुपर्यो भने पनि माइक्रोफोन आवश्यक पर्छ । खासगरी बोलेर च्याट गर्नुपर्यो वा युट्युबमा बोलेर सर्च गर्नुपर्यो भने पनि माइक्रोफोन आवश्यक पर्छ । यी बाहेक दर्जनौं अरू कारण पनि छन्, जहाँ माइक्रोफोन र स्पिकरको आवश्यकता हुन्छ । यदि माइक्रोफोन वा स्पिकरमा धुलो वा पानी परेर समस्या आयो भने त्यसलाई सजिलै मर्मत गर्न सकिन्छ । तर, सफ्टवेयरका कारणले समस्या आएको रहेछ भने उक्त समस्या समाधान नहुन पनि सक्छ । त्यसैले माइक्रोफोन वा स्पिकर बिग्रिएको छ भने पनि तपाईंले नयाँ फोन लिन सक्नुहुन्छ ।
६) कनेक्टिभिटीको समस्या
स्मार्टफोनमा कनेक्टिभिटी भनेको मान्छेको शरीरमा खुट्टा भए जस्तै हो । कनेक्टिभिटी नभएको फोन अहिलेको अवस्थामा दैनिक प्रयोगमा ल्याउन मुस्किल नै हुन्छ । खासगरी वाईफाई सपोर्ट नगर्ने समस्या वा नेटवर्क नटिप्ने समस्या छ भने फोनमा कनेक्टिभिटीको समस्या देखिन्छ । कनेक्टिभिटीको समस्या देखिनुका पछाडि पनि थुप्रै कारण हुन सक्छन् । कतिपय अवस्थामा फोनको हार्डवेयरमा समस्या छ भने कनेक्टिभिटीमा समस्या आउँछ । जसले गर्दा फोन मर्मत गरेर कनेक्टिभिटीको समस्या समाधान गर्नुभन्दा नयाँ फोन लिनु नै उपयुक्त हुन्छ ।
७) चार्ज नहुने समस्या
फोनमा विभिन्न कारणले चार्ज नहुने समस्या देखिन्छ । कहिलेकाहीं एडप्टर, कहिले केबुलमा समस्या आउँदा पनि फोन चार्ज हुँदैन । त्यस्तोमा एडप्टर वा केबुलमध्ये जेमा समस्या आएको हो, त्यो समस्या पहिचान गरी नयाँ एक्सेसरिज लिएर समाधान गर्न सक्नुहुन्छ । तर, फोनमै केही कारणले चार्ज नहुने समस्या आयो भने त्यस्तो बेला पनि मर्मत गर्न सकिने विकल्प तपाईंसँग हुन्छ । यदि पोर्टमा धुलो पर्यो वा कनेक्टरमा समस्या देखियो भने फोन मर्मत गर्ने ठाउँमा गएर त्यस्तो समस्या समाधान गर्न सकिन्छ । तर, मर्मत गर्ने खर्च बढी भयो वा मर्मत गर्दा पनि नबन्ने अवस्था आयो भने त्यस्तोमा तपाईंलाई नयाँ फोन लिनुको विकल्प हुँदैन । विशेषगरी सर्किटमा समस्या आएको छ भने त्यस्तो बेला मर्मत गर्दा बढी शुल्क लाग्न सक्छ ।
८) फोन तात्ने समस्या
फोन तात्नु नौलो कुरा होइन । सामान्यतः हेभी काम गर्दा फोन तात्ने गर्छ । खासगरी गेम खेलियो वा हाई-इन्ड एप प्रयोग गरियो भने त्यस्तो बेला फोन तातिन्छ । तर, कहिलेकाहीं चार्जर बिग्रिंदा, सफ्टवेयरमा समस्या आउँदा वा ब्याट्रीमा समस्या आउँदा पनि फोन अस्वभाविक रूपमा तात्ने गर्छ । तपाईंलाई फोन अस्वभाविक रूपमा तातेको छ भन्ने लाग्यो भने एक पटक मर्मत गर्न जानुहोस् । तर, फोनमा भएको थर्मल म्यानेजमेन्ट सिस्टम वा अरू आन्तरिक हार्डवेयरमा खराबी छ भने तपाईंले नयाँ फोन लिन सक्नुहुन्छ ।
९) अस्वभाविक रूपमा फोन चल्न बन्द हुने
हुन त माथि पर्फमेन्सको चर्चा गरिसकेका छौं । पर्फमेन्सकै विषयमा एप फ्रिज वा क्रयाश हुने गर्छ । कतिपय अवस्थामा फोन प्रयोग गर्दा आफैं अफ भइदिन्छ । त्यस्तै कहिलेकाहीँ अन हुनै समय लाग्छ ।
फोन बढी तात्ने, ब्याट्रीमा समस्या आउने, सफ्टवेयर ग्लिच हुँदा पनि फोनको पर्फमेन्स खुम्चिंदै जान्छ । कहिलेकाहीं मालवेयरले आक्रमण गर्दा पनि फोनमा यस्तो समस्या आउँछ । यो समस्या फोन मर्मत गर्ने ठाउँमा समाधान भयो भने राम्रै हो । तर, समाधान भएन भने तपाईंले नयाँ फोन लिनु उपयुक्त हुन्छ ।
१०) ब्याट्री फुल्नु
ब्याट्री फुल्दै गयो भने फोन सुन्निन थाल्छ । ब्याट्री फुल्नुका पछाडि थुप्रै कारणहरू हुन्छन् । फोन पानीमा पर्यो, बढी तात्न थाल्यो वा कतै खस्यो भने ब्याट्री फुल्ने समस्या देखिन्छ । ब्याट्री फुल्दा फोन सुन्निने भएकाले त्यसलाई कम गर्नका लागि हामी टोक्ने गर्छौं । जसले गर्दा फोन खराब देखिन्छ । यदि कम खर्चमा ब्याट्री परिवर्तन गर्दा समस्या समाधान हुन्छ भने त्यही तरिका अपनाउनुहोस् । यदि भएन भने तपाईंलाई नयाँ फोन लिंदा नै फाइदा हुन्छ ।