काठमाडौं । साइबर आक्रमणको शिकार बनेको केही दिनपछि इन्टरनेटको सबैभन्दा ठूलो डिजिटल पुस्तकालय इन्टरनेट आर्काइभ र 'वेब्याक मेसिन' सञ्चालनमा आएको छ । गत ९ अक्टोबरमा भएको डिडस (DDoS) आक्रमणपछि हाल सीमित अवस्थामा पढ्न मिल्नेगरी सञ्चालनमा आएको हो ।
डीडस आक्रमण भन्नाले कुनै पनि प्लेटफर्ममा बट अकाउन्टको बाढी लगाई ट्राफिक बढी बनाएर सेवा अवरुद्ध पार्ने गतिविधि हो । उक्त आक्रमणपछि इन्टरनेट आर्काइभको साइट डाउन हुने मात्र नभइ ३१ करोड युनिक रेकर्ड भएको युजर अथेन्टिकेसन डेटाबेस समेत चोरी भएको थियो । इन्टरनेट आर्काइभका संस्थापक ब्रुस्टर कहलका अनुसार अहिले साइट पुनः प्रयोग गर्न सुरक्षित छ । तर अझै मर्मत आवश्यक पर्ने भएकाले सेवा फेरि केही समयका लागि रोकिन भने सक्छ ।
हाल इन्टरनेट आर्काइभको प्रमुख सेवा ‘वेब्याक मेसिन' मा प्रयोगकर्ताहरूले ९१६ अर्बभन्दा बढी वेब पेज खोजी गर्न सक्छन् । तर अहिलेको अवस्थामा नयाँ वेब पेज अभिलेख गर्ने सेवा भने साइबर आक्रमणका कारण प्रभावित बनेको छ ।
ह्याकरले इन्टरनेट आर्काइभबाट ठूलो सुरक्षा ब्रिच गरेको दाबी गरेका थिए । सो कुरालाई पछि 'ह्याभ आइ बिन प्वन्ड' (Have I Been Pwned) साइटले समेत पुष्टि गरेको थियो । यसका संस्थापक ट्रोय हन्टले आक्रमणका कारण लिक भएको डेटा फाइल आफूले प्राप्त गरेको बताएका छन् । जसमा ३१ करोड युनिक मेल एड्रेस, स्क्रिन नेम, ह्यास गरिएको पासवर्ड र अन्य आन्तरिक डेटा रहेको बताइएको छ ।
गुगलले क्यास गरिएका पेजहरूको लिङ्क हटाएर वेब्याक मेसिनको लिङ्कहरू गुगल सर्च रिजल्टमा राख्न थालेको केही समयमा नै इन्टरनेट आर्काइभमा यस प्रकारको ठूलो साइबर आक्रमण भएको हो । इन्टरनेट आर्काइभले पुराना वेब पेजमा समेत जान सम्भव बनाउँछ । जुन धेरै वेब प्रयोगकर्ताका ठूलो सुविधा हो ।
तर अहिले पनि साइट खोल्दा वेब्याक मेसिनमा भएका कुरा पढ्नेबाहेक अन्य सेवा अस्थायी रूपमा रोकिएको सन्देश देख्न सकिन्छ । काहल र उनको टोलीले केही दिनयता ती सेवालाई पुनस्थापित गर्न काम गरिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।