काठमाडौं । सामाजिक सञ्जालका आफ्ना पोस्टहरूमा धेरै भ्युज, लाइक र कमेन्ट पाउने आशमा नयाँ साथी बनाउने बालबालिका धेरै रहेको पाइएको छ । सेभ द चिल्ड्रेनले हालै सार्वजनिक गरेको एक अध्ययनले यस्तो तथ्य बाहिर ल्याएको हो ।
"वेब्ड: एक्सप्लोरिङ अनलाइन टु अफलाइन चाइल्ड सेफ्टी इन कर्णाली एन्ड मधेस प्रोभिन्सेस अफ नेपाल" शीर्षकको सो अध्ययन अनुसार ४ मध्ये ३ जना बालबालिकाले यसरी नयाँ साथी बनाउने गरेका छन् ।
अधिकांश बालबालिकाले साथी बनाउन र घनिष्ट हुन इन्टरनेटको प्रयोग गर्ने गरेका छन् । अध्ययनमा सहभागी मध्ये ३५ प्रतिशत बालबालिकाले अनलाइनमा नयाँ साथी बनाउने गरेको बताएका छन् । त्यसमा पनि ४८ प्रतिशत बालक र २९ प्रतिशत बालिकाहरू रहेका छन् । त्यस्तै अनलाइनमा साथी बनाउने ६१ प्रतिशत बालबालिकाले आफ्ना अनलाइन साथीहरूलाई वास्तविक जीवनमा समेत भेटेको बताएका छन् । आधाभन्दा बढी अर्थात् ५४ प्रतिशत बालबालिकाहरू साथी बनाउन र च्याट गर्न फोनको प्रयोग गर्दा ‘क्याजुअल’ तथा ‘रोमान्टिक’ सम्बन्धसम्म पुग्ने गरेका छन् ।
अध्ययनका क्रममा बालबालिका र परिवारबाट प्राप्त गुणात्मक तथ्याङ्कले लामो समयसम्मको संवाद र डिजिटल रूपमा बनेका साथी प्रायः प्रेम सम्बन्ध र बालविवाहसम्म जान सक्ने जोखिम समेत औँल्याएको छ । धेरैजसो बालबालिकाको मोबाइल तथा इन्टरनेटको प्रयोगमा अभिभावकले कुनै किसिमको निगरानी नै नगर्ने कुरा पनि देखिएको छ ।
अध्ययनमा सामेल ६४ प्रतिशत बालबालिकाले आफूले चाहेको जुनसुकै बेला मोबाइल फोन प्रयोग गर्ने अनुमति रहेको र आफ्ना अभिभावकबाट त्यसका लागि अनुमति समेत लिनु नपर्ने बताएका छन् । यद्यपि बालक र बालिकामा यो अवस्थामा उल्लेखनीय अन्तर रहेको छ । जसमा ६१ प्रतिशत बालिका र ३९ प्रतिशत बालकले त्यसका लागि अनुमति लिनुपर्ने जवाफ दिएका छन् ।
अध्ययनले ८३ प्रतिशत बालबालिकाले मोबाइल फोन र इन्टरनेट शैक्षिक उद्देश्यका लागि प्रयोग गर्ने गरेको पत्ता लगाएको छ । जबकि ८० प्रतिशतले मनोरञ्जनका लागि यसको प्रयोग गर्ने गरेका छन् । यद्यपि, यसले बालबालिकालाई साइबरबुलिङ, यौन शोषण, र अनलाइनहुँदै अफलाइनमा हुने दुर्व्यवहार जस्ता जोखिमहरूमा पनि पार्ने देखाएको छ।
अध्ययनका प्रमुख निष्कर्ष:
इन्टरनेटको पहुँच: ८६ प्रतिशत बालबालिकाको घरमा इन्टरनेट सुविधा उपलब्ध छ ।
मोबाइल फोनको प्रयोग: ९८ प्रतिशत बालबालिकासँग मोबाइल फोन वा स्मार्टफोन छ ।
अनलाइन दुर्व्यवहारको बारेमा जागरुकता: ६६ प्रतिशत बालबालिका अनलाइन दुर्व्यवहार र हिंसाको बारेमा जानकार छन् ।
अनलाइन हुँदै अफलाइनमा दुर्व्यवहार: ३५ प्रतिशत बालबालिकाले अनलाइन साथी बनाएको र १७ प्रतिशतले आफ्ना अनलाइन साथीहरूले अफलाइन भेट्न बाध्य पारेको बताएका छन् ।
उजुरी गर्ने अभ्यास: अनलाइन दुर्व्यवहारको सामना गर्ने बालबालिकाहरू मध्ये ६ प्रतिशतले मात्र प्रहरीमा उजुरी दिएका छन् ।
यस्ता छन् अध्ययनबाट प्राप्त सुझाव
अध्ययनले अभिभावक, शिक्षक, इन्टरनेट सेवा प्रदायक, गैरसरकारी संस्था र नेपाल सरकारलाई बालबालिकाको अनलाइन सुरक्षा सुनिश्चित गर्न सुझाव समेत दिएको छ ।
बालबालिकासँग खुलेर कुराकानी गर्ने ।
अनलाइन सुरक्षाको बारेमा बालबालिकालाई प्रशिक्षित गर्ने ।
बालबालिकाको अनलाइन गतिविधिको निगरानी गर्ने ।
इन्टरनेट सेवा प्रदायकहरूले बालबालिकालाई अनुपयुक्त सामग्री माथिको पहुँचमा रोक लगाउन उचित कदम चाल्ने ।
सरकारले बालबालिकाको अनलाइन सुरक्षा सम्बन्धी कानून र नीतिहरूलाई बलियो बनाउने ।