काठमाडौं । रौतहटका २३ वर्षीय मोहन अन्सारी (नाम परिवर्तन) लाई गएको वैशाख तिर फेसबुकमा एक विदेशी अकाउन्टबाट फ्रेन्ड रिक्वेस्ट आयो । उनले तत्कालै फ्रेन्ड रिक्वेस्ट एसेप्ट गरे । एसेप्ट गर्नासाथ विदेशी आईडीबाट मेसेज आयो, “हेलो ।”
मोहनले पनि रिप्लाई दिए । त्यसपछि मेसेज गर्ने व्यक्तिले आफूलाई टर्की स्थित एक बैंकको मेनेजरका रूपमा चिनाए । उक्त मेसेजमा भनिएको थियो, “तपाईँकै थर गरेको व्यक्ति अल्बर्ट अन्सारी टर्कीमा बित्नुभयो । तपाईँको पनि थर अन्सारी रहेछ । उहाँको बीमा बापतको रकम उहाँका आफन्तलाई पठाउनु पर्नेछ ।”
यति मेसेज देख्नासाथ अन्सारी रनभुल्लमा परे । ‘किन यस्तो मेसेज आएको होला’ अनि ‘अल्बर्ट अन्सारी भन्ने मान्छेलाई चिनेको पनि छैन’ भन्ने विचार उनको मानसपटलमा नआएको होइन । त्यसपछि उनले विचार गर्नका लागि कुरा थाले । जिज्ञासाहरू राखे ।
आफूलाई टर्कीको एक बैंकको मेनेजर बताउने व्यक्तिले घटनाको बेलीविस्तार लगाए । उनले भने, “मैले अन्सारी थर भएको व्यक्तिलाई खोजेको थिएँ । तपाईँ भेटिनु भयो । बीमा बापतको ९० लाख आठ हजार डलर (एक अर्ब २३ करोड ३५ लाख रुपैयाँ भढी) मध्ये तपाईँले आधा पाउनुहुन्छ । तर, तपाईँले चाहनु पर्यो ।”
मोहनलाई उनी आफन्त नपर्ने भए पनि सहयोग गर्न चाहेकाले सम्पर्क गरेको ती बैंकको मेनेजर बताउने व्यक्तिले सुनाए । त्यसपछि मोहन दङ्ग परे । बेरोजगार उनी के गरौँ, कता जाऊँ भन्ने अवस्थामा थिए । पहिले भारतमा काम गर्दै आइरहेका उनी अब तेस्रो देश जाने सोचमा थिए । तर, कहाँ जाने के गर्ने भन्ने टुङ्गो लागिसकेको थिएन ।
ठ्याक्कै त्यही बेला यस्तो गज्जबको अफर आएपछि उनलाई अरू के चाहियो ! ‘तपाईँलाई आधा पैसा नै दिन्छु भन्ने मान्छे आएपछि’ अन्सारीले त्यो सहर्ष स्वीकार गरे । र, प्रक्रिया अगाडि बढाउन अनुरोध गरे । त्यसपछि ती बैंकका मेनेजर भन्ने व्यक्तिले मोहनबाट नागरिकता, राष्ट्रिय परिचयपत्र, पासपोर्ट, बैंक खाता आदि जस्ता उनका व्यक्तिगत कागजात मागे । मोहनले सबै स्क्यान गरी पठाई दिए ।
त्यसको केही समयपछि मोहनलाई ती व्यक्तिले १०/१२ ओटा कागजात पठाए । त्यसमा नाता प्रमाणित, बैंकको स्टेटमेन्ट लगायतका कागजात थिए । त्यति बेलासम्म पनि अन्सारी ‘साँच्चिकै पैसा आउला र ?’ भन्ने अलमलमै थिए । तर, सबै कागजात पाएपछि उनी ढुक्क भए । अनि, रकम खातामा आइपुग्ने आशामा बसे ।
तर, ती बैंकका कर्मचारीले यो सबै कागजात मिलाइसकेको र रकम नेपाली खातामा पठाउन अदालतको शुल्क तिर्नुपर्ने बताए । “कति तिर्नुपर्छ ?” मोहनले सोध्दा ती मेनेजरले साढे पाँच लाख रुपैयाँ तिर्नुपर्ने बताए । ‘तपाईँका लागि काम गरी दिएको हो । यो सबै कागजात पनि मैले तपाईँकै लागि बनाई दिएँ,” ती बैंक मेनेजरले भनेका थिए, “यसको खर्च बापत तपाईँले साढे पाँच लाख रुपैयाँ दिनुपर्ने हुन्छ ।”
मोहनलाई मेनेजरको कुरा खासै चित्त बुझेन । त्यो पल सम्झिँदै मोहन भन्छन्, “म खल्तीमा एक हजार नहुने मान्छेलाई साढे पाँच लाख तिर्नुपर्छ भनेपछि त्यो मेरा लागि हो जस्तो लागेन ।”
तर, एक अर्बको सवाल थियो । त्यसमा पनि आधा रकम तपाईँकै हुन्छ भनेको छ । मोहन कसरी नपत्याउने भन्ने दोधारमा पनि परे । यत्तिका कागजात बनाउन पक्कै पनि खर्च त लाग्यो होला । त्यस माथि बैंककै मेनेजरले यो सबै गरिरहेको छ । त्यसैले खर्चको रकम पनि त्यति ठुलो होइन भन्ने लाग्यो । उता बैंकका मेनेजरले साढे पाँच लाखबाट घटाएर दुई लाख दिए पनि मिलाई दिन्छु भन्ने कुरा गरे । मोहनलाई मेनेजरको प्रस्ताव स्वाभाविक नै लाग्यो । त्यसपछि रकम दिन तयार भए ।
यता दिनको सय रुपैयाँ पनि आम्दानी नगर्ने मोहनका लागि दुई लाख निकै ठुलो रकम थियो । त्यही दुई लाख तिरिसकेपछि यो आफ्ना लागि सामान्य भई हाल्छ भन्ने मनमनै सोच्न थाले । र, रकमको जोहो गर्न लागे । चिनेका व्यक्तिले एक लाख रुपैयाँ सहयोग गरे । अब उनलाई थप एक लाख रुपैयाँ आवश्यक थियो । तर, उनले एक अर्बको आधा आई हाल्छ भन्दै पाँच लाख नै खोज्न थाले ।
उनले बुबासँग रकम माग्नुपर्ने थियो । तर, माग्ने कसरी ? यही गर्छु भन्ने योजना थिएन । कसैलाई दुई लाख पठाई दिए बापत एक करोड आउँछ भनेर बुबालाई विश्वस्त बनाउने आँट उनीसँग थिएन । त्यसैले बुबालाई विदेश जानका लागि रकम चाहियो भन्दै विश्वासमा पारे । गाउँमा सबै विदेश जाने लहर चलेको देखेका मोहनका बुबाले छोराको कुरा पत्याई हाले । र, कति चाहिन्छ भनेर सोधे । मोहनले टर्की जाने भएकाले पाँच लाख आवश्यक पर्ने बताए ।
मोहनका बुबाका लागि यो ठुलो रकम थियो । घरमा त्यत्तिका पैसा पनि थिएन । त्यसैले उनले जग्गा धरौटीमा राखेर गाउँकै साहुसँग ब्याजमा पाँच लाख रुपैयाँ मागे । साहुले पनि जग्गा पाएपछि पाँच लाख ऋण दिए ।
मोहनका बुबाले बडो विश्वास गरेर उक्त रकम छोराको हातमा सुम्पिए । र, छिट्टै तिर्नु भन्दै आशीर्वाद दिए । यता पाँच लाख पाएका मोहनलाई ५० करोडको लोभले सताइरहेको थियो । यसअघि गाडीमा चढेर काठमाडौं आउने आर्थिक अवस्था नभएका उनी यसपटक भने प्लेन चढेर काठमाडौं उत्रिए । र, बैंकका मेनेजरले भनेको खातामा दुई लाख रुपैयाँ जम्मा गरी दिए । रकम पाइसकेपछि बैंकका मेनेजर भन्ने व्यक्तिले भने, “तपाईँले पठाएको रकम हामीले पायौँ । तपाईँ पर्खेर बस्नुस्, केही दिनमा रकम आइपुग्छ ।”
यता मोहन मोटो रकम हात पर्ने कुराले निकै उत्साहित थिए, “त्यत्रो रकम पाउने भए पछि किन नेपालमै पर्खिएर बस्ने ? आफैँ टर्की किन नजाने ?” नेपालबाट टर्की जानका लागि भिसा पाउन गाह्रो हुन्छ भन्ने बुझेपछि उनी प्लेनमा दिल्ली पुगे । सबै कागजात प्रिन्ट गरी सम्हालेर झोलामा राखे । त्यसपछि टर्की जाने प्रक्रियाबारे बुझ्न विभिन्न ठाउँमा जान थाले । त्यही बेला फेसबुक चलाउँदै गर्दा उनले आपुतालीको धनको लोभमा ठगिएका नेपालीको समाचार देखे । त्यसमा भएका एक एक शब्द ध्यान दिएर पढे । पीडितको सबै कहानी उनीसँग दुरुस्तै मिलेको थियो । अर्थात् अरू जसरी ठगिएका थिए, उनी पनि त्यसरी नै ठगिए । “समाचार हेरेपछि थाहा भयो, मलाई त्यो बैंकको मेनेजर भन्नेले जसरी लोभमा पारेको थियो, त्यसरी नै अरूलाई पनि लोभमा पारेको रहेछ,” उनी भन्छन्, “त्यसपछि सबै कागजात गुगलमा खोज्न थालेँ । त्यो त फेक रहेछ ।”
त्यसपछि उनी हतार हतार प्लेनमा नेपाल फर्किए । यति बेलासम्म उनको थप झन्डै डेढ लाख रुपैयाँ खर्च भइसकेको थियो । ती बैंक मेनेजरको गफ सुनेर टर्की जाने सपना बुनेका मोहन, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुगे ।
अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले उनको घटना बुझे र उजुरी दिन लगाए । त्यसको केही महिनापछि मोहनले दुई लाख रुपैयाँ पठाएका व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लियो । र, तत्कालै एक लाख रुपैयाँ फिर्ता गर्न लगायो । तर, एक लाख फसिसकेको थियो ।
त्यही एक लाख पाउन उनी आठ महिनादेखि पनि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय धाइरहेका छन् । उनले आफ्ना बुबालाई यस घटना बारे बनावटी कथा सुनाएका छन् । कार्यालयमा मोहनसँगै देखिने उनका ६० वर्षीय बुबालाई छोरा कसरी ठगियो भन्ने थाहा छैन । मोहनले म्यानपावरले आफूलाई ठगेको भन्ने झुटो कथा बुनेर सुनाएका छन् । यता बढी उत्साहित भएर प्लेनमा यात्रा गर्ने, महँगा ठाउँमा बस्ने गरेका मोहनलाई आफ्नै कारणले डेढ लाख रुपैयाँ त्यत्तिकै ऋण लागेको छ । यो उनैले खर्च गरेको रकम फिर्ता हुने कुरै भएन । तर, बैंकका मेनेजरलाई पठाएको मध्येको एक लाख रुपैयाँ पाउने सम्भावना भने आधाआधी छ ।
उनका बुबाका अनुसार मोहनले एक वर्षभित्र पाँच लाख रुपैयाँको ब्याजसहित सात लाख तिर्नुपर्नेछ । यदि उक्त रकम तिर्न नसके साहुले उनीहरूको जग्गा कब्जा गर्नेछन् । साहुबाट जग्गा उम्काउन मोहन पहिले जस्तै भारतमा मजदुरी गर्न गइरहेका छन् । नेपाल आउँदा रकम फिर्ता पाउने आशाले उनी वृद्ध बुबासँगै उपत्यका अपराध अनुसन्धान कार्यालय पुगिरहेका हुन्छन् ।