काठमाडौं । अम्पायरको निर्णय विरुद्ध सामाजिक सञ्जालमा लेखेपछि राष्ट्रिय टिमका खेलाडी एवं पूर्व कप्तान सन्दीप लामिछाने कारबाहीमा परेका छन् । नेपाल क्रिकेट सघ (क्यान)ले लामिछानेलाई अनुशासनको कारवाही गरेको हो ।
जय ट्रफी प्रतियोगिताका क्रममा अम्पायरको निर्णयमाथि प्रश्न उठाउँदै उनले फेसबुकमा पोस्ट राखेका थिए । यसपछि क्यानको आचारसंहिता उल्लंघन गरेको भन्दै उनलाई स्पष्टीकरण सोधिएको थियो ।
“क्यानको आचारसंहिताको २.७ उल्लङ्घन गर्दै सामाजिक सञ्जालमा पोस्ट राखेको पाइएपछि उन(लामिछाने)लाई कारबाही गरिएको हो,” क्यानका प्रवक्ता छुम्बी लामाले भने । लामाका अनुसार क्यानले लामिछानेलाई तीन डिमेरिट अंक दिने निर्णय गरेको छ । यसको अर्थ क्यानले आयोजना गर्ने प्रतियोगितामा लामिछानेलाई एक खेल खेल्नबाट प्रतिबन्ध गरिएको हो ।
जय ट्रफीमा बागमती प्रदेशको कप्तानी गरेका लामिछानेले त्रिभुवन आर्मी क्लबविरूद्धको खेलमा अम्पायरले गलत निर्णय गरेको भन्दै पुस २६ गते फेसबुकमा स्टाटस राखेका थिए । उनले नेपालमा अम्पायरको स्तर सुधार हुन नसकेकाले खेलाडीहरू पीडित बन्नुपरेको लेखेका थिए ।