काठमाडौं । विश्व बजारमा आफूलाई पृथक् स्मार्टफोन कम्पनीका रूपमा चिनाउन नथिङ ब्रान्डले अनेकौँ प्रयास गरिरहेको हुन्छ । वनप्लसका पूर्व सह-संस्थापक समेत रहेका स्विडेनका नागरिक कार्ल पेईले स्थापना गरेको यो कम्पनीले सुरुवाति चरणमा भिन्न डिजाइनको स्मार्टफोन ल्याएर चर्चा पायो ।
नथिङ ब्रान्ड अन्तर्गत ल्याइएको पहिलो फोन ‘फोन वन’ पारदर्शी ब्याक प्यानलका कारण विश्व बजारमा चर्चाको विषय बन्यो । र, उक्त मोडेल राम्रै सङ्ख्यामा बिक्री पनि भयो ।
उनै कार्ल पेईले गत वर्ष फोन टु सार्वजनिक गर्ने क्रममा भारत आए । उनले बाटोमा हिँडिरहेका व्यक्तिलाई रोक्दै उक्त फोन देखाए र फोनको मूल्य कति होला भन्ने अनुमान लगाउन भने । धेरैले फोनको वास्तविक मूल्यभन्दा तीन गुणा बढीसम्म पर्ने अड्कल काटे ।
यसरी सर्वसाधारणबाटै रिभ्यु लिएका कार्ल पेईको मार्केटिङको रणनीति उत्कृष्ट साबित भयो । त्यही फोन नेपाली बजारमा पनि बिक्री भइरहेको छ । अहिले भने कार्ल पेईले नयाँ फोन चर्चामा ल्याउने अर्को रणनीति अपनाएका छन् ।
त्यसका लागि उनले लोकप्रिय टेक युट्युबर माकस ब्राउन्ली उर्फ एमकेबीएचडीको सहायता लिएका छन् । उनले सबैभन्दा पहिला ब्राउन्लीलाई ईमेल पठाउँदै २०२५ का लागि उनको ड्रिम फोन कस्तो हुनुपर्छ भन्ने सोधे ।
ब्राउन्लीले २०२५ का लागि आफ्नो ड्रिम फोनको स्पेसिफिकेसन पठाए । २०२५ मा सार्वजनिक हुने उत्कृष्ट फोनमा ५९०० एमएएच क्षमताको ब्याट्री हुनुपर्ने बताए । उक्त फोनमा फास्ट र वायरलेस चार्जरको विकल्प पनि हुनुपर्ने उनले उल्लेख गरे ।
तर, कम्पनीले यसलाई बढाएर ६००० एमएएच क्षमताको ब्याट्री, ६५ वाटको वायर्ड चार्जर र १५ वाटको वायरलेस चार्जर उपलब्ध गराउने बतायो । यसका लागि कम्पनीलाई थप १५ डलर खर्च लाग्ने भयो ।
त्यसपछि डिस्प्लेको सन्दर्भमा उनले १२० हर्ज रिफ्रेश रेट, १४४० पिक्सेल रिजोलुसन सहितको ६.१ इन्चको एलटीपीओ एमोलेड डिस्प्ले हुनुपर्ने सर्त राखे । यो सामसङ एस २४ अल्ट्रामा भएको डिस्प्ले हो । यसका लागि कम्पनीले ३५ डलर खर्च गर्नु पर्ने भयो ।
अब पालो आयो क्यामेराको । उनले नयाँ आउने फोनमा सामसङ एस २४ अल्ट्राको ब्याक क्यामेरा र गुगलको पिक्सेल नाइनको जस्तो सेल्फी क्यामेरा हुनुपर्ने बताए । त्यसमा सामसङको हार्डवेयर र आईफोन १६ प्रोको सफ्टवेयर हुनुपर्ने उल्लेख गरे । यसका लागि कम्पनीले ८० डलर खर्च गर्नुपर्ने देखियो ।
त्यसैगरी स्टोरेजका सन्दर्भमा एमकेबीएचडीले फोनमा १६ जीबी र्याम र १ टीबी इन्टर्नल स्टोरेज हुनुपर्ने भने । यसका लागि नथिङलाई ९० डलर खर्च लाग्ने भयो । चिपसेटका सन्दर्भमा ए १८ प्रो स्तरको चिपसेट राख्नुपर्ने बताए ।
त्यसका लागि स्नापड्रागनको पछिल्लो समयको शक्तिशाली चिपसेट स्नापड्रागन ८ एलिट प्रयोग गर्न सुझाव दिए । यो पछिल्लो समय बजामा आएका प्रिमियम गेमिङ स्मार्टफोनमा हुने चिपसेट हो । यसको खर्च १९० डलर लाग्ने भयो ।
यो सबै खर्च जोड्दा ५०० डलर थपिने भयो । यो केबल प्रमुख कम्पोनेन्टको खर्च थियो । फोनका लागि आवश्यक पर्ने मदरबोर्ड र अन्य कम्पोनेन्ट त्यही अनुसारको समावेश गर्नुपर्ने चुनौती नथिङलाई थियो । तर, त्यसभन्दा पहिले रिसर्च एन्ड डेभलपमेन्टको काम गर्नुपर्ने थियो ।
फोनमा प्रयोग हुने कम्पोनेन्ट त छँदै छ । साथमा रिसर्च एन्ड डेभलपमेन्टको काममा पनि कम्पनीले लाखौँ डलर खर्च गर्नुपर्ने थियो । त्यस्तै ब्राउन्लीले कुन अपरेटिङ सिस्टम राख्ने भन्ने पनि खुलाएका थिएनन् । त्यसैले त्यसमा नथिङकै अपरेटिङ सिस्टम राख्ने निष्कर्षमा कम्पनी पुग्यो ।
यो सबै विश्लेषण गर्दा ब्राउन्लीको ड्रिम फोन बनाउन दुई करोड ३५ लाख ३५ हजार ५०० डलर (करिब तीन अर्ब २३ करोड ९४ लाख २६ हजार रुपैयाँ) लाग्ने हिसाब कम्पनीले निकाल्यो । नथिङको युट्युब च्यानलमा यस विषयमा तयार पारिएको भिडिओ राखिएको छ ।
भिडिओको टाइटलमा ‘वि मेड एमकेबीएचडिज ड्रिम फोन’ (हामीले एमकेबीएचडीको ड्रिम फोन बनायौँ) लेखिएको छ । तर, भिडिओभित्र त्यसमा लाग्ने खर्च र फोन कस्तो हुन्छ भन्ने डेमो मात्र देखाइएको छ । कम्पनीले कस्टम फोन बनाउनका लागि कति खर्च लाग्ने रहेछ भन्ने पत्ता लगाउन काम गरेको जनाएको छ । यद्यपि यो फोन वास्तवमा उत्पादन हुन्छ वा हुँदैन भन्ने स्पष्ट छैन ।
तर, कम्पनीले यो प्रोटोटाइप बनाउन लाग्ने खर्च भएको उल्लेख गर्दै नयाँ फोनको रूपमा यही स्पेसिफिकेसन सहितको फोन आउन सक्ने सङ्केत दिएको छ ।