काठमाडौं । भारतीय अभिनेता सैफ अली खानलाई आक्रमण गरेको आरोपमा पक्राउ परेका व्यक्ति नै सीसीटिभी फुटेजमा देखिएको व्यक्ति भएको प्रहरीले दाबी गरेको छ । मुम्बई प्रहरीले अनुसन्धानबाट यो कुराको पुष्टि भएको जनाएको छ । प्रहरीका अनुसार घटनाको सीसीटिभी फुटेजमा देखिएका व्यक्ति र पक्राउ परेका व्यक्तिको अनुहार मिलेको छ । यसले अनुसन्धानलाई थप बलियो बनाएको प्रहरीको भनाइ छ ।
घटनास्थलको सीसीटिभी फुटेजका आधारमा ३० वर्षीय बङ्गलादेशी नागरिक मोहम्मद शरिफुल इस्लाम शहजाद पक्राउ परेका छन् । शुक्रबार पत्रकार सम्मेलनमा मुम्बई प्रहरीले ‘फेसियल रिकग्निसन’बाट आरोपी व्यक्ति र सीसीटिभीमा देखिएका व्यक्ति एउटै भएको दाबी गरेको हो ।
“मोहम्मद शरिफुल इस्लाम शहजादको अनुहार सीसीटिभी फुटेजमा देखिएको आक्रमणकारीको अनुहारसँग मेल नखाएको भन्ने आरोप लागेपछि हामीले उनको अनुहार पहिचान परीक्षण गरेका थियौं,” पत्रकार सम्मेलनमा अतिरिक्त प्रहरी आयुक्त परमजीत सिंह दहियाले भने, “शुक्रबार आएको फरेन्सिक विज्ञान प्रयोगशालाको रिपोर्टले पक्राउ परेका अभियुक्त र सीसीटिभी फुटेजमा देखिएका आक्रमणकारी एउटै व्यक्ति भएको निष्कर्ष निकालेको छ ।”
फेसियल रिकग्निसन रिपोर्टका साथै प्रहरी अधिकारीले अनुसन्धानकर्तासँग विभिन्न कोणबाट लिइएको सीसीटिभी फुटेज, मोबाइल फोनको लोकेसन र इन्टरनेट प्रोटोकल विवरण रिपोर्टलगायत बलियो प्राविधिक प्रमाणहरू रहेको बताए । यसले घटनाको समयमा अभियुक्तको संलग्नता र घटनास्थलमा उपस्थितिलाई प्रमाणित गरेको प्रहरीको भनाइ छ ।
घटनास्थलबाट संकलन गरिएको फिङ्गरप्रिन्टको नमुना शहजादको नमुनासँग मेल नखाएको समाचार एक पत्रिकामा आएपछि विवाद उत्पन्न भएको थियो ।
बलिउड अभिनेता खानलाई हालै चक्कु प्रहार गरेको आरोपमा शहजाद पक्राउ परेका थिए । सीसीटिभी फुटेजमा संदिग्ध व्यक्ति भवनको सिँढीमा देखिएका थिए । यो घटना यसै जनवरीको सुरुवाततिर भएको थियो ।
शहजादले चोरी गर्ने उद्देश्यले खानको बान्द्रास्थित घरमा प्रवेश गरेका थिए । त्यसपछि झगडा हुँदा खानको ढाड र शरीरका अन्य भागमा चक्कु प्रहार भएको थियो । अभिनेता खानलाई तत्काल लीलावती अस्पताल लगिएको थियो । त्यहीँ उनको शल्यक्रिया गरिएको थियो । पूर्ण रूपमा निको भएपछि २१ जनवरीमा उनी अस्पतालबाट डिस्चार्ज भएका थिए ।
उनलाई बङ्गलादेश भाग्ने प्रयास गर्दा प्रहरीले पक्राउ गरेको थियो । यद्यपि, शहजादका वकिल सन्दीप शेखानले प्रहरीको दाबीलाई चुनौती दिएका छन् । उनले शहजादमाथि उचित अनुसन्धान नगरिएको आरोप लगाएका छन् । “उनी बङ्गलादेशी हुन् भन्ने कुनै प्रमाण प्रहरीसँग छैन,” शहजादका वकिल शेखानले पत्रकारलाई भने, “प्रहरीहरू छ महिनाअघि शहजाद यहाँ आएको दाबी गर्छन्, तर उनी सात वर्षभन्दा बढी समयदेखि मुम्बईमा बस्दै आएका छन् । उनको परिवार यहीँ छ । यो कानुनी प्रक्रियाको स्पष्ट उल्लङ्घन हो ।”
(*समाचारमा सीसीटिभी फुटेजमा देखिएको व्यक्तिको अनुहार अभियुक्तसँग मिलेको हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ । स.)