close

डिपसिकका संस्थापक लियाङ वेनफेङ भन्छन्ः अब प्रविधिमा चीन अघि लाग्ने समय आयो

टेकपाना टेकपाना

माघ २०, २०८१ १२:५६

डिपसिकका संस्थापक लियाङ वेनफेङ भन्छन्ः अब प्रविधिमा चीन अघि लाग्ने समय आयो

काठमाडौं । पछिल्लो केही दिनयता चिनियाँ कम्पनीले बनाएको एआई डिपसिकको चर्चा चुलिएसँगै सिलिकन भ्यालीमा हलचल मच्चिएको छ । जनवरी २०२५ मा चिनियाँ एआई कम्पनी डिपसिकले आफ्नो ओपन सोर्स इन्टरफेस मोडेल डिपसिक-आर १ ल्याएपछि सबैको ध्यान चीनतर्फ केन्द्रित छ ।

यो एआई टुल ओपन एआईको एपभन्दा ३० गुणा कम लागतमा उत्कृष्ट नतिजा देखाउँदै प्रतिस्पर्धामा उत्रिएको  छ । मेटा, गुगल, र माइक्रोसफ्टले खर्च गरेको अर्बौँ डलर भन्दा निकै सस्तो मूल्य अर्थात् ६० लाख अमेरिकी डलरको लगानीमा चिनियाँ कम्पनीले डिपसिक तयार पार्‍यो । 

अहिले विश्वभरका व्यक्तिगत प्रयोगकर्ताहरू र साना-मझौला व्यवसायहरू डिपसिक-आर १ मा आकर्षित भइरहेका छन् । यसलाई आफ्नो आधारभूत मोडेलको रूपमा पुनः प्रशिक्षण गरिरहेका छन् । यसले एआईको भविष्य सिलिकन भ्यालीमा मात्र नभइ चीनमा पनि सम्भव छ भन्ने किसिमका सन्देश पनि दिन खोजेको छ । 

डिपसिकका संस्थापक लियाङ वेनफेङले एक अन्तर्वार्ताका क्रममा प्रयोगकर्ताहरू तान्नु आफ्नो प्राथमिक लक्ष्य नभएको बताएका थिए । “हामीले मूल्य घटायौँ, किनभने सुरुमा त नयाँ पुस्ताको मोडेल संरचना अनुसन्धान गर्दा हाम्रो लागत नै भयो । दोस्रो, हामी विश्वास गर्छौँ कि एआई र एपीआई  सेवाहरू सबैको लागि सुलभ र किफायती हुनुपर्छ ।”

वर्षौँसम्म चिनियाँ कम्पनीहरू अन्यत्र विकास गरिएका प्रविधि उपयोग गरेर एप्लिकेसनहरू मार्फत त्यसलाई व्यावसायिक रूपमा उपयोग गर्न अभ्यस्त थिए । तर यो दिगो रणनीति नभएको ठान्ने लियाङ वेनफेङ आफैँले त्यस्ता सेवा बनाउने तर्फ जानुपर्नेमा विश्वास राख्छन् ।  

डिपसिकले सिलिकन भ्यालीका धेरैलाई आश्चर्यचकित किन बनायो होला त ? अमेरिकामा दैनिक रूपमा नयाँ आविष्कारहरू भइ रहन्छन् । उनीहरू आश्चर्यचकित हुनुको एउटा कारण भनेको चिनियाँ कम्पनीलाई नवप्रवर्तनकर्ताको रूपमा देख्नु हो । डिपसिकले अहिले गरेको भनेको अधिकांश चिनियाँ कम्पनीहरूले यसअघिसम्म फलोअरको रूपमा युरोप-अमेरिकालाई पछ्याएको कामभन्दा फरक छ ।

नवप्रवर्तन महँगो कुरा हो । विश्व बजारमा विद्यमान प्रविधि अपनाउने बानीकै कारण चीनको पछिल्लो विकास भएको हो । तर चीनमा बाइटडान्स र टेन्सेन्ट जस्ता ठुला प्रविधि कम्पनीहरू पनि छन् । नाफा आर्जन गर्ने हिसाबले पनि ती कम्पनी विश्वस्तरमा महत्त्वपूर्ण स्थानमा छन् । वेनफेङको बुझाईमा अब चीनसँग पूँजीको अभाव छैन, छ त केवल आत्मविश्वास र उच्च क्षमताका प्रतिभाहरूलाई नवप्रवर्तन कार्यमा प्रभावकारी ढङ्गले सङ्गठित गर्ने क्षमता । 

डिपसिक एउटा व्यावसायिक मोडेलको हो । कम्पनीले नवप्रवर्तन गर्छ र आफ्ना उपलब्धिहरू ओपन-सोर्स बनाउँछ । यसो गर्दा प्रतिस्पर्धीहरूले छिट्टै उसको नक्कल गरे भने भोलि गएर डिपसिकले कसरी नाफा गर्ला त ? प्रतिस्पर्धात्मक लाभ कहाँ रहला ?

लियाङ वेनफेङ डिसरप्टिभ प्रविधिमा क्लोज-सोर्सको सुरक्षात्मक पर्खाल क्षणिक मात्र हुने ठान्छन् । ओपनएआई जस्तो क्लोज-सोर्स मोडेलले पनि आफूलाई पछ्याउनबाट अरूलाई रोक्न सकेको छैन । “ओपन-सोर्स र अनुसन्धान पत्र प्रकाशित गर्नुले ठुलो घाटा हुँदैन । प्रविधि क्षेत्रमा कसैले पछ्याउने बन्न सक्नु नै सम्मानजनक कुरा हो । ओपन-सोर्स केवल व्यापारिक रणनीति होइन, यो सांस्कृतिक विषय पनि हो । अरूलाई योगदान दिनु गर्वको कुरा हो र यसले थप उत्कृष्ट प्रतिभाहरूलाई आकर्षित गर्छ ।”

उनी चीन सधैँ एआईको फलोअर मात्र रहन नसक्ने बताउँछन् । “हामी प्रायः भन्छौँ कि चिनियाँ र अमेरिकी एआईबिच एक वा दुई वर्षको अन्तर छ । तर वास्तविक अन्तर मौलिकता र नक्कलबिचको हो । यदि यो परिवर्तन भएन भने चीन सधैँ पछाडि रहनेछ । त्यसैले केही नयाँ आविष्कारहरू अपरिहार्य छन् ।”

लियाङ वेनफेङ अधिक लगानीले आवश्यक रूपमा अधिक इनोभेसनको परिणाम दिने कुरामा सहमत छैनन् । यदि त्यस्तो हुँदो हो त , ठुला प्रविधि कम्पनीहरूले सबै इनोभेसनमा एकाधिकार बनाउने थिए ।

इनोभेसनको पहिलो र मुख्य विषय भनेको आत्मविश्वास हो । सिलिकन भ्याली किन यति नवीन छ ? किनभने उनीहरू प्रयास गर्ने हिम्मत गर्छन् । जब च्याटजीपीटी लन्च भयो, चीनले एक हिसाबले अग्रणी अनुसन्धानप्रति विश्वास गुमाएको जस्तो देखिन्थ्यो । चिनियाँ लगानीकर्तादेखि ठुला प्रविधि कम्पनीहरूसम्म धेरैले अनुसन्धानमा धेरै गहिरो खाडल रहेको र एप्लिकेसनहरूमा मात्र ध्यान दिनुपर्ने धारणा राख्थे । 

तर लियाङ वेनफेङले डिपसिक मार्फत सबैभन्दा कठिन समस्या समाधान गर्ने अठोट लिए । संसारका कठिन  चुनौतीहरू समाधान गर्ने अवसरले नै उच्चस्तरीय प्रतिभाका आकर्षित गर्नेमा उनी विश्वास राख्छन् । “वास्तवमा चीनका उत्कृष्ट प्रतिभाहरूलाई प्रायः कम आँकलन गरिन्छ । किनभने यहाँ गहन अनुसन्धान दुर्लभ छ,” उनी भन्छन्, “जसका कारण उनीहरूलाई पहिचान गरिँदैन । तर, हामी उनीहरूले चाहेको अवसर दिन्छौँ ।”

ओपनएआई कुनै दैवी संस्था नभएको र सधैँ अग्रसर रही रहन नसक्ने उनी बताउँछन् । वेनफेङको विचारमा आर्टिफिसियल जनरल इन्टेलिजेन्स (एजीआई) प्राप्त गर्न दुई वर्ष, पाँच वर्ष, वा दश वर्ष जति पनि लाग्न सक्छ । तर हाम्रो जीवनकालमै एजीआई सम्भव भएको कुरामा उनी ढुक्क छन् । अहिले उनको कम्पनी एजीआईको प्राकृतिक परीक्षण, वास्तविक संसारसँग अन्तरक्रिया गरेर सिक्न सक्ने मल्टिमोडालिटी र नेचुरल ल्याङ्वेज प्रोसेसिङमा आफ्नो ध्यान केन्द्रित गरिरहेको छ ।

(चिनियाँ सञ्चार माध्यमहरूको सहयोगमा)

पछिल्लो अध्यावधिक: माघ २०, २०८१ १३:६