close

क्रिप्टो कारोबार ‘पोन्जी स्किम’ जस्तै भएकाले प्रतिबन्ध लगाउनुपर्छ : आरबीआई

टेकपाना टेकपाना

फागुन ४, २०७८ १५:५३

क्रिप्टो कारोबार ‘पोन्जी स्किम’ जस्तै भएकाले प्रतिबन्ध लगाउनुपर्छ : आरबीआई

काठमाडौं । यो वर्षको बजेट घोषणा गर्दै भारतकाे केन्द्रीय सरकारले क्रिप्टोकरेन्सीलाई करको दायरामा ल्याएको छ ।

विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको देशले नयाँ नीति सहित क्रिप्टोकरेन्सी र एनएफटीलाई वैधानिकता दिएको केही समय पनि नबित्दै भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डिया (आरबीआई) ले भने क्रिप्टोकरेन्सी ‘पोन्जी’ स्किम जस्तै भएको र यसबाट सचेत रहनुपर्ने भन्दै चेतवानी दिएको छ ।

आरबीआईले क्रिप्टोकरेन्सी असुरक्षित भएका कारण यसमा प्रतिबन्ध लगाउनु नै उचित हुने धारणा पनि व्यक्त गरेको छ ।

हालै आयोजित एक कार्यक्रममा बोल्दै आरबीआईका डेपुटी गभर्नर टी. रवि शंकरले व्यवस्थित अर्थतन्त्रलाई छल्न क्रिप्टोकरेन्सीको विकास गरिएको टिप्पणी गरेका छन् ।

क्रिप्टोकरेन्सी कुनै मुद्रा, सम्पत्ति वा वस्तुको रूपमा परिभाषित गर्न योग्य नभएको र क्रिप्टोसँग कुनै नगद प्रवाह नहुने भएका कारण यो ‘पोन्जी स्किम’ जस्तै भएको व्याख्या गरेका छन् ।

यसले गर्दा देशको आर्थिक स्वाधिनतालाई खतरामा पार्ने अभिव्यक्ति दिएका छन् । सन् २०१८ मा रिजर्व बैंकले क्रिप्टोकरेन्सीसँग सम्बन्धित सम्पूर्ण कारोबारमा प्रतिबन्ध लगाएको थियो ।

यद्यपि सन् २०२० मा भारतको सर्वोच्च अदालतले क्रिप्टोकरेन्सीमाथिको उक्त प्रतिबन्ध फुकुवा गर्न आदेश दिएको थियो । त्यसपश्चात पनि भारतमा क्रिप्टो कारोबार उल्लेख्य रुपमा वृद्धि भएको छ ।

ब्लुमबर्गमा प्रकाशित एक लेखका अनुसार भारतको क्रिप्टो बजार २०२० को जुलाई देखि २०२१ को जुन सम्ममा ६४१ प्रतिशतले बढेको पाइएको छ । 

के हो पोन्जी स्किम ? 

पोन्जी स्किमलाई एउटा ठगीको रुपमा लिइएको छ, जसले लगानीकर्तालाई थोरै जोखिमका साथ उच्च दरको प्रतिफल दिन्छ । र पछिका लगानीकर्ताबाट लिइएको पैसाको साथ अघिल्लो लगानीकर्ताहरूका लागि प्रतिफल थप गर्दै जान्छ ।

यो एक पिरामिड स्किमजस्तै हुन्छ, जसमा कुनै वस्तु वा सेवा बिना नै नयाँ लगानीकर्ताको सदस्यताबाट उठेको पैसा पुराना लगानीकर्तामा बाँड्ने गरिन्छ ।

यसले गर्दा सुरुमा धेरै पैसा कमाइने जस्तो देखिए पनि पछि गएर यसले सुरुका सीमित लगानीकर्तालाई मात्र फाइदा हुन्छ भने अन्य ठगीमा पर्छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२