काठमाडौं । फेसबुकले सुरु गरेको डिजिटल भुक्तानी परियोजना ‘डियम’ अन्तर्गत बुधबार ‘यूएस स्टेबल क्वाइन’ सार्वजनिक गर्ने घोषणा गरेको छ ।
स्टेबल क्वाइन पनि एक किसिमको क्रिप्टोकरेन्सी नै हाे, जसको मूल्य सरकारले जारी गरेको मुद्रा जस्तै स्थिर रहन्छ । उक्त अमेरिकी डलर स्टेबल क्वाइनलाई भने क्यालिफोर्निया आधारित सिल्भरगेट बैंकले जारी गर्नेछ, जसले डाइभ यूएसडी रिजर्भलाई समेत व्यवस्थापन गर्नेछ ।
प्रारम्भमा डियमलाई ‘लिब्रा’ नामले चिनिन्थ्यो । २०१९ को मध्यतिर सार्वजनिक भएको यो मुद्राले हालसम्म खासै ठूलो आकर्षण बटुल्न सकेको छैन ।
साझेदारहरु सम्झौताबाट बाहिरिएका छन् भने योजनाका विवरण पनि परिवर्तन भएका छन् । यस्तै अमेरिकी संसदहरुले समेत यो योजनाको आलोचना गरेका थिए ।
तर फेसबुकले भने आफ्नो क्रिप्टो परियोजनालाई निरन्तर अगाडि बढाएर लैजाने दृढता देखाएको छ ।
यसबीच डियम असोशिएसनले आफ्नो मुख्य अपरेटरलाई स्विटजरल्याण्डबाट अमेरिकामा लैजाने घोषणासमेत गरेको छ । साथै भुक्तानी प्रणाली लाइसेन्सका लागि स्विस फाइनेन्सियल मार्केट अथोरिटीमा पेश गरेको निवेदनलाई पनि कम्पनीले फिर्ता लिने घोषणा गरेको छ ।
किन क्रिप्टोकरेन्सी चाहन्छ फेसबुक ?
वास्तवमा यो फेसबुकको क्रिप्टोकरेन्सी होइन । यो डियम असोशिएसनको परियोजना हो । तर डियमको प्रारम्भिक नाम लिब्रा असोशिएसनमा भने फेसबुक पनि सह-संस्थापनमा थियो ।
क्रिप्टोकरेन्सीको मौद्रिक प्रशासनको रुपमा काम गर्ने उक्त असोशिएसनले आफ्नमो मुख्य उद्देश्य एक अर्ब ७० करोड मानिसहरुलाई बैंक अकाउन्टबिना नै मुद्राको प्रयोगको सुविधा दिनु बताएको थियो ।
यद्यपि उक्त डिजिटल मुद्रालाई लिएर फेसबुकको पनि आफ्नै स्वार्थ थियो । उसले करिब चार वर्षदेखि ‘क्रेडिट्स’ नामको भर्चुअल मुद्रा सञ्चालन गरिरहेको थियो । ताकि फेसबुकभित्र खेलिने गेमहरुको भुक्तानी गर्न सकियोस् ।
मार्क जुकरबर्ग पनि अनलाइमा पैसा पठाउने विधि इन्बक्समा फोटो पठाएको जस्तै सजिलो हुनुपर्ने बताउँथे । यसैले फेसबुकले सह-संस्थापकको भूमिका निभएर भए पनि डियमलाई डिजाइन गरेको थियो ।
ताकि मान्छेहरुले सस्तो र सजिलो विधिमा पैसाको अनलाइन भुक्तानी गर्न सकुन् र फेसबुकले अन्य नयाँ प्रयोगकर्तालाई पनि आफ्नो सञ्जालमा आकर्षण गर्न सकोस् ।
मानिसहरूले सजिलै क्रिप्टोमुद्रा प्रयोग गर्न सके भने फेसबुकले अझ धेरै विज्ञापन बनाएर लाभ लिन सक्ने जुकरवर्गले बुझेका छन् ।
यो क्रिप्टोकरेन्सीलाई लिएर फेसबुकसँग अर्को योजना पनि छ । एउटा नयाँ सब्सिडेरी, जसले डिजिटल मुद्रालाई होल्ड तथा प्रयोग गर्न वालेट चलाउने छ । जसलाई ‘कालिब्रा’ नाम दिइएको थियो ।
डियममाथि फेसबुकको प्रत्यक्ष नियन्त्रण हुन्छ त ?
फेसबुक डाइभ असोशिएसनको एउटा सदस्य मात्र भएको कारण यसमा उसको कुनै प्रत्यक्ष नियन्त्रण हुने छैन ।