close

एरोस्पेस इन्जिनियर बन्न चाहनुहुन्छ ? त्रिभुवन विश्वविद्यालयको यो कोर्ष पढ्नुहोस्

सञ्जीवन राई सञ्जीवन राई

असार ९, २०८० ११:१३

एरोस्पेस इन्जिनियर बन्न चाहनुहुन्छ ? त्रिभुवन विश्वविद्यालयको यो कोर्ष पढ्नुहोस्

काठमाडौं । नेपालमा केही दशक अगाडिसम्म इन्जिनियरिङको सीमित विधामा मात्र पढाइ हुन्थ्यो । त्यसो हुँदा आफ्नो रुचि भएको विषयमा भर्ना हुन पाइन्थेन । नतिजा स्वरुप विदेशमै जानुपर्ने बाध्यता थियो । तर पछिल्लो केही समयदेखि विस्तारै विशिष्टिकृत कोर्षहरूको पढाइ हुन थालेको छ । यहाँका विश्वविद्यालयहरूले इन्जिनियरिङका नयाँ नयाँ कोर्ष थप्दै गइरहेका छन् ।

ब्याचलर इन एरोस्पेस इन्जिनियरिङ (एएस) पनि यस्तै एक कोर्ष हो । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को यो कोर्षबारे आज हामी चर्चा गर्दै छौँ:

कोर्षबारे

नेपालमा पहिलो पटक त्रिविले यो कोर्ष पढाउन सुरु गरेको हो । यसअघि एरोस्पेस पढ्न भारत लगायत अन्य देश जानुपर्ने बाध्यता थियो । तर २०७५ बाट इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) अन्तर्गतको पुल्चोक क्याम्पसमा यो विषय पढाइ भइरहेको छ । 

ड्रोन, हेलिकप्टर, प्लेन जस्ता आकाशमा उड्ने वस्तुहरूको डिजाइन तथा मेन्टेनेन्स (मर्मत) सम्बन्धी विषयवस्तु यस कोर्षमा पढाइ हुन्छ । एयरक्राफ्ट (आकाशमा उड्ने मसिन), स्पेसक्राफ्ट (अन्तरिक्षमा उड्ने मसिन), भू-उपग्रह जस्ता विषयहरूमा रुचि भएका विद्यार्थीले यो विषय अध्ययन गर्दा उपयुक्त हुन्छ । यस विषयमा तिनको सिद्धान्त तथा व्यवहारिक विषयबारे पढाइ हुने हुन्छ ।

एयरक्राफ्ट डिजाइन, म्यानुफ्याक्चर र मेन्टेनेन्स गर्नसक्ने दक्ष इन्जिनियर उत्पादन गर्नु कोर्षको लक्ष्य छ । कोर्षले एभियसन इन्डस्ट्री (उड्डयन उद्योग) को क्षेत्रमा आन्टरप्रेनियर बन्न समेत विद्यार्थीलाई सहयोग गर्छ । 

एरोस्पेस इन्जिनियरिङमा स-साना ड्रोनदेखि बोइङ जस्ता ठूला जहाज पनि समेटिन्छन् । यस कोर्षमा विद्यार्थीले तिनै सम्बन्धी अध्ययन गर्नुपर्छ ।

तर यो पाइलट बनाउने भने कोर्ष होइन । त्रिविको यस कोर्षमा एयरक्राफ्टको डिजाइनसँगै मेन्टेनेन्सलाई पनि विशेष प्राथमिकता दिइएको सहायक प्राध्यापक आयुष भट्टराई बताउँछन् । यसको कारण नेपालमा एयरक्राफ्टको विकास उति नहुनु रहेको उनको तर्क छ ।

“एरोस्पेस इन्जिनियरिङ भन्नासाथ एयरक्राफ्टको डिजाइन भन्ने बुझिन्छ । तर नेपालमा एयरक्राफ्ट त्यति विकसित भएको छैन,” उनी भन्छन्, “तर एयरलायन्स कम्पनीहरू बढिरहेका छन् । यसो हुँदा तिनको मेन्टेनेन्स गर्ने जनशक्ति चाहिन्छ भनेर यसलाई राखिएको छ । उत्तीर्ण विद्यार्थीले त्यता पनि जान सकून् भनेर यसो गरिएको हो ।”

कस्तो छ कोर्ष ?

यो चार वर्षे (आठ सेमेस्टर) कोर्ष हो । यसमा पहिलो दुई वर्षमा अन्य इन्जिनियरिङमा हुने विषय नै पढाइ हुन्छ । जसमा इन्जिनियरिङ, विज्ञान, गणित लगायतका विषय समेटिएको छ । दोस्रो वर्षमा फन्डामेन्टल्स अफ एरोस्पेस इन्जिनियरिङ, एरोस्पेस मटेरियल्स, एरोडाइनामिक जस्ता आधारभूत विषय राखिएका छन् ।

तेस्रो र चौंथाे वर्षदेखि भने कोर्ष विषय केन्द्रित छ । जसमा एयरक्राफ्ट म्यानुफ्याक्चरिङ प्रोसेस, एयरक्राफ्ट प्रोपल्सन, एयरक्राफ्ट मेन्टेनेन्स इन्जिनियरिङ, फ्लाइट डाइनामिक, एयर ट्राफिक म्यानेजमेन्ट, एयरक्राफ्ट स्ट्रक्चर जस्ता विषय पढाइ हुन्छ ।

कोर्षमा अन्तिम वर्ष विद्यार्थीले तीन ओटा इलेक्टिभ विषय अध्ययन गर्न पाउँछन् । साथै दुई ओटा प्रोजेक्ट र एउटा अनिवार्य इन्टर्नशिप विद्यार्थीले गर्नुपर्छ । 

कोर्षको पूरा पाठ्यक्रम हेर्न यहाँ क्लिक गर्नुहोस् । 

क-कसले पढ्न पाउँछन् ?

यो विषय अध्ययन गर्न विद्यार्थीले माध्यमिक तह (कक्षा ११ र १२) मा फिजिक्स र म्याथम्याटिक्स पढेको हुनुपर्छ । माध्यमिक तह, 'ए' लेभल, इन्जिनियरिङ डिप्लोमा तह वा सो सरहको परीक्षामा कूल पूर्णाङ्कमा न्यूनतम ‘सी’ ग्रेड अथवा ४५ प्रतिशत ल्याउनुपर्छ ।

यसभन्दा कम नतिजा छ भने प्रवेश परीक्षामा विद्यार्थी सहभागी हुन पाउँदैनन् । त्यसपछि आईओई प्रवेश परीक्षा उत्तीर्ण गर्नुपर्छ । पुल्चोक क्याम्पसमा भर्ना हुन केही थ्रेसहोल्ड राखिएको छ । यसकारण विषयमा भर्ना हुन प्रवेश परीक्षामा बढी अङ्क प्राप्त गरेको हुनुपर्छ । 

पढाइपछिको भविष्य

नेपालमा केही वर्षयता ड्रोनको प्रयोग बढिरहेको छ । नयाँ-नयाँ विमानस्थल बन्ने क्रममा छन् । यसो हुँदा एयरलाइन्स कम्पनी पनि थपिने सम्भावना छ । यो विषय अध्ययन गरेका विद्यार्थीले यिनै क्षेत्रमा भविष्य बनाउन सक्छन् ।

यो विषय मेकानिकल इन्जिनियरिङसँग धेरै नजिक छ । यसो हुँदा मेकानिकल प्रोडक्ट डिजाइनमा पनि विद्यार्थी जान सक्छन् ।

हुन त नेपालमा भन्दा यस विषय पढेकाले विदेशमा धेरै अवसर पाउँछन् । किनकि अमेरिका, युरोपमा यो क्षेत्र निकै फस्टाएको छ । यससम्बन्धी ठूल्ठूला कम्पनी त्यतै छन् । एरोस्पेस इन्जिनियरहरूको माग पनि त्यहाँ नै बढी छ ।

तर विद्यार्थीले यहाँ नै आफ्नो भविष्य बनाउँछु भन्दा पनि राम्रो नै रहेको छ ।

कोटा, छात्रवृत्ति र शुल्क

पुल्चोक क्याम्पसले यस कोर्षमा नियमित र पूर्ण शुल्कीय गरी दुई प्रकारको विद्यार्थी भर्ना लिने गर्छ । जसमा नियमितमा १२ र पूर्ण शुल्कीयमा ३६ गरी कूल विद्यार्थी कोटा ४८ तोकिएको छ ।

प्रवेश परीक्षामा विद्यार्थीले प्राप्त गरेको नतिजाका आधारमा छात्रवृत्ति वितरण गरिन्छ । यस अन्तर्गत नियमित तर्फका १२ विद्यार्थी छात्रवृत्तिका लागि योग्य हुन्छन् । यो कोर्षको शुल्क भने नियमित तर्फका विद्यार्थीलाई ६९ हजार र सशुल्क तर्फ ६ लाख ५ हजार रुपैयाँ तोकिएको छ ।

पछिल्लो अध्यावधिक: साउन १, २०८० १६:१९