close

क्यान मेलामा कम्पनीहरूबीच बजारीकरणको प्रतिस्पर्धा, ‘कान्छी’ रोबोटको बेटा भर्सन सार्वजनिक

टेकपाना टेकपाना

माघ २८, २०८० १२:६

क्यान मेलामा कम्पनीहरूबीच बजारीकरणको प्रतिस्पर्धा, ‘कान्छी’ रोबोटको बेटा भर्सन सार्वजनिक

काठमाडौं । भृकुटीमण्डपमा जारी क्यान इन्फोटेक २०२४ मा प्रदर्शनीकर्ता कम्पनीहरुबीच प्रविधि प्रदर्शनीसँगै बजारीकरणको प्रतिस्पर्धा चलेको छ । 

यसअन्तर्गत विभिन्न कम्पनी तथा ब्राण्डहरूले सेवाग्राहीलाई एकै थलोबाट आफ्ना उत्पादन एवं सेवाबारे जानकारी प्रदान गरिरहेको आयोजक क्यान महासंघले जनाएको छ ।

क्यानका अनुसार प्रदर्शनीस्थलमा रहेको ब्राण्डिङ कक्षमा सहभागी देशविदेशका विभिन्न कम्पनी एवं ब्राण्डहरूले स्टलबाटै वितरक, डिलर तथा रिटेलरसँग जोडिएर व्यवसाय विस्तार गर्ने मौका पाएका छन् । साथै ग्राहकका जिज्ञासा एवं गुनासाहरू पनि स्टलबाटै समाधान गरिरहेका छन् ।

नेपालमै उत्पादन भएका प्रविधि, नवप्रवर्तन क्षेत्रमा हासिल भएका अनुसन्धान र उपलब्धि तथा सूचना प्रविधिमैत्री स्टार्टअप व्यवसायमा पनि अवलोकनकर्ताको चासो बढेको छ ।

विशेषगरी साइबर सुरक्षा, कृषि, पर्यटन, हस्पिटालिटी लगायतका क्षेत्रमा प्रयोग हुने प्रविधिबारे बुझ्न चाहने अवलोकनकर्ता बढेको क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले बताए ।

शनिबार नेपाली अनुसन्धानकर्मीहरूले विकास गरेको मसिन लर्निङमा आधारित रोबोट ‘कान्छी’को बेटा भर्सन समेत सार्वजनिक गरिएको थियो । रोबोटका निर्माता टिममा सदस्य बिक्रान्त कार्कीले मानिसहरूबाट प्रतिक्रिया लिइरहेको र चाँडै नै पूर्ण उत्पादन सार्वजनिक गर्ने योजना रहेको सुनाए । यो रोबोटमा नेपालमा बोलिने विभिन्न भाषाहरू एकीकृत गर्नेगरी काम भइरहेको समेत उनले जानकारी दिए ।

त्यस्तै क्यान इन्फोटेकको अवसर पारी विभिन्न सेवाप्रदायक तथा बिक्रेताले आफ्ना सेवा तथा वस्तुमा छुट घोषणा गरेका छन् । यसअन्तर्गत कम्पनीहरुले वस्तु खरिद तथा बुकिङमा छुट, निःशुल्क परामर्श तथा रमाइला खेल सञ्चालन गरिरहेका छन् । 

प्रदर्शनीमा नेपाली स्टार्टअप र इनोभेसनबारे बुझ्न चाहने अवलोकनकर्ताको संख्या पनि उल्लेख्य रहेको क्यान महासंघका अध्यक्ष रणजीत पोदारले बताए । उनका अनुसार क्यान इन्फोटेकमा स्टार्टअप तथा इनोभेसन प्याभिलियनमा निःशुल्क स्टलको व्यवस्था गरिएको छ । डिजिटल नेपाल निर्माणका लागि सर्वसाधारणलाई प्रविधिबारे सचेतना गर्न तथा यस क्षेत्रमा प्रोत्साहन गर्न क्यान इन्फोटेकले आधारशीलाको काम गरेको उनको भनाइ छ ।

पछिल्लो अध्यावधिक: माघ २८, २०८० १२:१०