close

नेपाली महिलालाई नासाले पूर्ण छात्रवृत्ति दिएको भन्ने समाचार गलत

टेकपाना टेकपाना

फागुन १८, २०८० १०:५२

नेपाली महिलालाई नासाले पूर्ण छात्रवृत्ति दिएको भन्ने समाचार गलत

काठमाडौं । नेपाली महिलाले पहिलो पटक नेसनल एरोनटिक्स एन्ड स्पेस एड्मिनिस्ट्रेसन (नासा) बाट पूर्ण छात्रवृत्ति पाएको भन्ने समाचार भ्रामक रहेको पाइएको छ । समाचारमा नाम उल्लेख भएकी पात्र रोजिता बुद्धाचार्यले बिहीबार फेसबुकमा एक पोस्ट राख्दै आफ्नो नाम जोडेर आएका समाचार भ्रामक भएको प्रष्ट पारेकी छिन् ।

“मैले सन् २०१७ मा पहिलोपटक अमेरिकाको बाल्टिमोरस्थित स्पेस टेलिस्कोप साइन्स इन्स्टिच्युटमा तीन महिने समर इन्टर्नशिप गर्ने मौका पाएको थिएँ, पूर्ण छात्रवृत्ति मात्र होइन, पेड इन्टर्नशिप थियो त्यो,” उनले लेखेकी छिन्, “त्यसपछिको यात्रा तय गर्दै थुप्रै चरण पार गर्दै सन् २०१७ मा अमृत साइन्स क्याम्पस नेपाल र सन् २०२३ मा लाइडेन विश्वविद्यालय नेदल्याण्डबाट क्रमशः भौतिकशास्त्र र खगोलशास्त्रमा स्नातकोत्तर गरेकी हुँ ।”

उनले अगाडि लेखेकी छिन्, “यत्ति बाहेक जति पनि फ्यूचरिस्टिक् समाचार सम्प्रेषण भए (मैले भर्खर दुई ओटा समाचार पढें हेरें), म आफै अचम्ममा छु । टाइम ट्राभल जस्तो अनुभूति भइरहेछ ।”

आफूले कहीँ नबोलेको, नभनेको, कही कतै शेयर नगरेको र नलेखेको कुरालाई प्रमाणित नगरेरै समाचार बनाएकोमा आफू अन्योलमा परेको उनले उल्लेख गरेकी छिन् । 

उनले सन् २०१७ मा समर इन्टर्नशिप गरेको स्पेस टेलिस्कोप साइन्ट इन्टिच्युट (एसटीएसआई) एसोसिएसन अफ युनिभर्सिटिज फर रिसर्च इन एस्ट्रोनोमी (एयूआरए)ले नासाका लागि सञ्चालन गरेको सेन्टर हो ।

तर, विभिन्न सञ्चार माध्यमले बुद्धाचार्य नासाबाट पूर्ण छात्रवृत्ति पाउने पहिलो महिला भएको दाबी गरेका थिए ।

ब्लगपोर्टल माइसंसारले शुक्रबार एक ब्लग सार्वजनिक गर्दै विभिन्न सञ्चार माध्यममा आएका समाचार कसरी भ्रामक छन् भन्ने प्रष्ट पारेको छ । माइसंसारले लेखेको छ, “अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले छात्रवृत्ति नदिने होइन, दिन्छ। तर सन् २०२४ को छात्रवृत्ति कसलाई दिने भनेर घोषणा हुनै बाँकी छ। यसका लागि आवेदन दिने म्याद नै अप्रिल ३० सम्म छ। नपत्याए हेर्नुस् नासाको आधिकारिक साइटमा नै ।

बुद्धचार्यले सन् २०२३ मा बेलायतको बेल बर्नेल ग्राजुएट स्करशिप फन्ड प्राप्त गरेकी थिइन् । तर, विभिन्न सञ्चार माध्यमले यही समाचारलाई भ्रामक बनाएर नासाबाट छात्रवृत्ति पाएको भन्ने दाबी गरेको माइसंसारको निष्कर्ष छ ।

पछिल्लो अध्यावधिक: फागुन १८, २०८० १०:५२