काठमाडौं । पठाओले आफ्ना ग्राहकका लागि 'पठाओ पोइन्ट्स' सुरु गरेको छ । यसअन्तर्गत पठाओका कुनै पनि सेवा प्रयोग गर्दा पोइन्ट्स प्राप्त गर्ने र त्यसलाई रिडिम गरी लाभ लिन सकिने कम्पनीले जनाएको छ ।
ग्राहकले पठाओको राइड, फुड अर्डर र अन्य सेवामा गर्ने खर्चको १० प्रतिशत बराबर पोइन्ट्स पाउनेछन्, जसलाई विभिन्न पठाओ सेवा प्रयोग गर्दा रिडिम गर्न सकिने छ । पोइन्ट्स प्रयोग गर्न ग्राहकले पठाओ एपको होम पेजको 'पोइन्ट्स' ट्याबमा जानुपर्ने हुन्छ ।
त्यहाँबाट जम्मा भएका पोइन्ट्स हेर्न र रिडिम गर्न सकिनेछ । पोइन्ट्स रिडिम गरी पठाओका सेवामा छुट प्राप्त गर्न मात्र नभई, पठाओमा आबद्ध रेस्टुरेन्ट, पार्टनर र अन्य व्यवसायमा पनि छुट पाउन सकिने छ । ग्राहकले क्यूआर कोड स्क्यान गरी लाभ लिन सक्ने कम्पनीले जनाएको छ ।
पठाओले ग्राहकका लागि पोइन्ट्सअनुसार फरक स्तर राखेको छ । ब्रोन्ज, सिल्भर, गोल्ड, र प्लाटिनम स्तरमा विभाजित स्तरले ग्राहकको जम्मा पोइन्ट्स अनुसार छुट र सुविधामा वृद्धि गर्दै लैजानेछ । ग्राहकको स्तर जति माथि पुग्छ, उति नै विशेष लाभ पाउन सकिने यो योजनाबाट कम्पनीले ग्राहकलाई आकर्षित गर्न खोजेको छ ।
रियल टाइम पार्सल डेलिभरी
पठाओले काठमाडौं उपत्यका बाहिर पनि रियल टाइम पार्सल डेलिभरी सेवा विस्तार गरेको छ । अब ग्राहकले आफ्नो सहरभित्र रहेका अन्य व्यक्तिलाई साना कुरियरजस्ता प्याकेज, डकुमेन्ट, गिफ्ट, घरायसी सामग्री र खरिद गरिएका सामान तुरुन्त पिकअपसहित पठाउन सक्नेछन् ।
कम्पनीले सुपर एप बन्ने योजनाअनुसार ग्राहक सुविधालाई ध्यानमा राख्दै विभिन्न सेवा तथा सुविधा थप गरिरहेको पठाओ नेपालका निर्देशक सुरक्षा हमालले बताइन् ।