close

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा अमेरिकाको उपस्थिति २०३० सम्म रहने

टेकपाना टेकपाना

पुस १८, २०७८ १४:५

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा अमेरिकाको उपस्थिति २०३० सम्म रहने

काठमाडौं । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएएस) मा अमेरिका सन् २०३० सम्म संलग्‍न हुने भएको छ । अमेरिकाको बाइडेन प्रशासनले आईएसएसमा सन् २०३० सम्म संलग्‍न हुने स्रोतको सुनिश्चितता गरिदिएको हो ।

आईएसएस पृथ्वीको कक्षमा घुमिरहेको एक मानवनिर्मित अन्तरिक्ष प्रयोगशाला हो, जहाँ अन्तरिक्षयात्रीहरु सयौं प्रयोगात्मक अभ्यास गर्छन् । युरोपियन स्पेस एजेन्सी, जापानको ज्याक्सा, क्यानेडिएन स्पेस एजेन्सी र रुसको रोसकोसमसले संयुक्त रुपमा आईएसएस सञ्चालन गर्दै आएका छन् ।

उनीहरुले सन् १९९८ मा यो केन्द्र निर्माण गरेका थिए । १५ वर्षका लागि भनेर निर्माण गरिएको केन्द्र पुरानो हुँदै गएको छ । गत वर्ष धुँवा पग्लिएको गन्ध आएपछि केन्द्रमा खतराको घण्टी बजाइएको थियो ।

रुसी अधिकारीहरुले त्यसअघि केन्द्रमा हार्डवेयर र सिस्टममा समस्याहरू देखिने बताउँदै आईएसएसको संरचना सन् २०३० पछि कामै नलाग्ने चेतावनी नै दिएको थियो ।

पुरानो हुँदै गएपछि केन्द्रमा हावा लिक हुने, इन्जिनको मिस फायरिङ र क्रयाक हुने समेत समस्या देखिँदै आएको छ । आईएसएसलाई खगोल विज्ञानलगायत अन्य वैज्ञानिक अनुसन्धानका लागि विश्वकै उत्कृष्ट वैज्ञानिक सहकार्यको रुपमा पनि लिइन्छ ।

२० वर्षदेखि यसबाट प्राप्त तथ्यांकहरु विश्वका विभिन्न मुलुकहरुले प्रयोग गर्दै आएका छन् । अमेरिकी अन्तरिक्ष संस्था नासाले आईएसएसमा सहभागी हुँदै नवप्रवर्तनमा र अन्तरिक्ष अनुसन्धान प्रविधिमा सहयोग गरिरहेको उल्लेख गरेको छ ।

नासाका प्रशासक नेल्सनले बाइडेन प्रशासनले आईएसएसमा अमेरिकाको उपस्थिति सन् २०३० सम्म हुने उल्लेख गर्दै यसले चन्द्रमामा पहिलो महिला पठाउने अमेरिका योजना र मंगल ग्रहमा मानिस पठाउने योजनामा पनि सहयोग मिल्ने उल्लेख गरेका छन् ।

आईएसएसमा हुने न्यून गुरुत्वबलका कारण पृथ्वीमा गर्न नसकिने अनुसन्धानहरु त्यहाँ सम्भव छ । हालसम्म सो अन्तरिक्ष केन्द्रमा तीन हजारभन्दा बढी अनुसन्धान भएका छन्, जहाँ संसारका ४२ सय अनुसन्धानकर्ताहरु प्रत्यक्षरअप्रत्यक्ष रुपमा सहभागी थिए ।

आईएसएसबाट विश्वका ११० मुलुकहरुले लाभ लिइरहेका छन् भने हरेक वर्ष विज्ञान, प्रविधि क्षेत्रका १५ लाख विद्यार्थीहरु यसका कार्यक्रमहरुमा सहभागी हुन्छन् । आईएसएसले वायुमण्डल, जलवायु, खडेरी, वनजंगललगायतको अनुसन्धानमा पनि प्रत्यक्ष सहयोग पुर्‍याउँदै आइरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२