close

नयाँ कानून आएसँगै धमाधम भारत छोड्दै भीपीएन कम्पनी

टेकपाना टेकपाना

जेठ २५, २०७९ २०:३४

नयाँ कानून आएसँगै धमाधम भारत छोड्दै भीपीएन कम्पनी

काठमाडौं । सरकारको नयाँ नियमप्रति असन्तुष्टि जनाउँदै दुई भीपीएन कम्पनीले भारत छोड्ने घोषणा गरेका छन् । एक्सप्रेस भीपीएन र सर्फशार्कले भारतमा आफ्नो सेवा बन्द गर्ने घोषणा गरेका हुन् । भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) सेवाको विषयलाई लिएर भारत सरकारले त्यस्ता कम्पनीले प्रयोगकर्ताको डेटा पाँच वर्षसम्म सुरक्षित राख्नुपर्ने र आवश्यक परेको बखत अधिकारीहरूलाई दिनुपर्ने नियम ल्याएको छ ।

भारत सरकारको यस किसिमको फैसलाको विषयलाई लिएर भीपीएन कम्पनीहरूले आपत्ति जनाएका छन् । नोर्ड भीपीएन जस्ता कम्पनीले यस अघि नै यदि सरकारले आफ्नो फैसला नसच्याएको अवस्थामा भारतबाट आफ्नो व्यवसाय बन्द गर्नुपर्ने बताइसकेको छ ।

सर्फशार्कले एक वक्तव्यमार्फत नयाँ कानून लागू हुनु अगावै आफ्नो भारतीय सर्भर बन्द गर्ने बताएको छ । साथै कम्पनीले फिजिकल सर्भरको साटो भर्चुअल सर्भर प्रयोगमा ल्याउनेछ । जसको भौतिक सर्भर लन्डन र सिङ्गापुरमा हुनेछ ।

भर्चुअल सर्भरमा भारतीय प्रयोगकर्तालाई स्थानीय आईपी एड्रेस प्राप्त हुनेछ । तर भीपीएन कम्पनीहरूको भारत छोड्ने निर्णय त्यहाँको आईटी क्षेत्रका लागि नराम्रो संकेत हो ।

भारतको इलेक्ट्रोनिक्स एन्ड सूचना प्राद्योगिकी मन्त्रालयको इजेन्सी सीआरटीले गत साता एक आदेश जारी गर्दै भीपीएन सेवाप्रदायकहरूले आफ्ना प्रयोगकर्ताको नाम, ईमेल आईडी र आईपी एड्रेस सहित अन्य डेटा पाँच साल वा त्यसभन्दा बढी समयसम्म सुरक्षित राख्नुपर्ने निर्देशन दिएको थियो ।

आदेश अनुसार कुनै कारणवश कुनै भीपीएन कम्पनीको रजिस्ट्रेसन रद्द हुन्छ भने त्यसपछि समेत डेटा माग गर्न सकिनेछ । सोझो शब्दमा भन्नुपर्दा कुनै भीपीएन कम्पनी बन्द वा प्रतिबन्ध भएपछि पनि त्यस्तो कम्पनीले भारत सरकारलाई डेटा उपलब्ध गराउनुपर्नेछ । आदेश अनुसार सेवाप्रदायकले आफ्नो सिस्टममा अनिवार्य रूपमा लगइनको व्यवस्था समेत राख्नु राख्नुपर्नेछ ।

के हो भीपीएन ?

भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) एउटा यस्तो नेटवर्क हो, जसले तपाईँको डेटालाई इन्क्रिप्सन गर्दछ र तपाईँको आईपी एड्रेसलाई समेत लुकाइदिन्छ । यस्तोमा तपाईँको इन्टरनेटको पहिचान विश्वबाट लुक्न पुग्छ ।

भीपीएनको प्रयोग तपाईँले पब्लिक वाईफाईमा समेत गर्न सक्नुहुन्छ । भीपीएनको सबैभन्दा राम्रो पक्ष के हो भने यसको साथमा इन्टरनेट प्रयोग गर्दा तपाईँलाई कसैले ट्र्याक गर्न सक्दैन ।

तपाईँले कुनै कम्प्युटर वा मोबाइलमा के खोज्नु भयो, गे गरिरहनु भएको छ भन्ने बारेमा कुनै अर्को व्यक्ति वा पक्षलाई कुनै पनि जानकारी हुँदैन । यति सम्म कि तपाईँको इन्टरनेट सेवाप्रदायक कम्पनीले समेत यसको भेउ पाउन सक्दैन ।

तर खुला नेटवर्कमा जब तपाईँ कुनै कुरा सर्च गर्नु हुन्छ भने विभिन्न प्रकारका साइटले कुकिजको माध्यमबाट तपाईँको जानकारी संकलन गरिरहेका हुन्छन् र त्यसको प्रयोग विज्ञापनमा गरिरहेका हुन्छन् ।

भीपीएनको प्रयोग आजकल ठगी र अपराधका लागि समेत हुन लागेको छ । जसबाट भारत सरकार हैरान बनेको छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६