close

प्रविधि क्षेत्र बुझ्न चाहनेहरूका लागि पढ्न लायक १० पुस्तक

टेकपाना टेकपाना

भदौ १०, २०७९ ११:५५

प्रविधि क्षेत्र बुझ्न चाहनेहरूका लागि पढ्न लायक १० पुस्तक

काठमाडौं । सूचना र प्रविधि जोडिएको संसार अनौठो छ । प्रविधि क्षेत्रलाई अँगालेर सफल हुनेहरूका कैयन उदाहरणहरू छन् । तिनै उदाहरणमध्ये सबैभन्दा विशेष र प्रेरक व्यक्तिका कथा पढ्दा त्यसले सफल काम गर्ने ऊर्जा थपिरहेको हुन्छ ।

आज हामी त्यस्ता पुस्तकबारे बताउँदै छौँ, जसले सफल प्रविधि कम्पनीका संस्थापक र कार्यकारी अधिकृत (सीईओ) का बारेमा विस्तृत लेख लेखेका छन् ।

१. द इनोभेटर्स

द इनोभेटर्स वाल्टर आइज्याक्सनले लेखेका सफल आईटी कम्पनी संस्थापकका कथा सङ्ग्रहित पुस्तक हो । विश्वमा सर्वाधिक बिक्री भएको पुस्तक स्टिभ जब्सको जीवनी लेख्ने लेखक आइज्याक्सनले यस पुस्तकमा कसरी केही व्यक्तिले मात्र सूचना तथा प्रविधिको संसारमा नयाँ आयाम ल्याएका छन् भन्ने विषय मिहिन रूपमा उल्लेख गरेका छन् ।

डिजिटल क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउने व्यक्तिहरूका कथा समेटिएको यो पुस्तकमा कसरी महत्त्वाकाङ्क्षी सपनाहरू सफल भए भन्ने कुरा समावेश छन् । यो पुस्तकमा आईटी उद्योगका नायकहरू बिल गेट्स, आडा लोभालेस, भानेवर बश, एलन ट्युरिङ, स्टिभ विज्नियाक, स्टिभ जब्स र ल्यारी पेजका बारेमा चर्चा गरिएको छ ।

२. जोनी इभ

तपाईँलाई जोनाथन इभको बारेमा केके थाहा छ ? सायद तपाईँले उनलाई एक लजालु ब्रिटिश डिजाइनरका रूपमा मात्र चिन्नु भएको होला । इभले स्टिभ जब्ससँग एप्पलका विभिन्न उपकरण निर्माण गर्ने कार्यमा सहकार्य गरेका थिए ।

उनले डिजाइन सम्बन्धी दिएका सेवा र उनको उद्यमशीलतालाई लिएर इभलाई नाइटेड’बाट सम्मान गरिएको थियो । लियन्डर कह्नीद्वारा लिखित यो पुस्तकमा कसरी बेलायतको एउटा विद्यालयमा पढ्ने इभले संसारभरका मानिसहरूलाई प्रभावित पार्न सफल भए भन्ने कुराको चर्चा गरिएको छ ।

यो पुस्तक विभिन्न अन्तर्वार्ता, उनका साथी, एप्पल कम्पनीमा आवद्ध विभिन्न व्यक्तिको सहयोग लिइ तयार पारिएको हो ।

३. इन्साइड एप्पल

एडम लाशिन्सकीद्वारा लिखित इन्साइड एप्पल पुस्तक एप्पल कम्पनीसँग सम्बन्धित छ । यसमा विशेषगरी पर्दा पछाडि कम्पनीको अवस्था, त्यसका गोपनीयता र विभिन्न रणनीतिहरू उल्लेख छन् ।

लाशिन्सकीले यो पुस्तक स्टिभ जब्सको व्यक्तित्व, आईप्याडका भूतपूर्व वरिष्ठ निर्देशक टोनी फेडल आदिका बारेमा गहिरो अध्ययन गरेर तयार पारेका हुन् ।

लाशिन्सकीले एप्पल कसरी सफल भयो भन्ने कुरा विश्लेषण गरेका छन् । स्टार्टअपको शक्ति सञ्चित गर्दै कसरी एप्पल सफल प्रविधि बन्न सक्यो भन्ने कुरा यो पुस्तकमा पढ्न पाइन्छ ।

४.       जिरो-टु-वान

पिटर थाइल पेपालका सह-संस्थापकका रूपमा चिनिने एक उद्यमी र लगानीकर्ता हुन् । उनी विभिन्न लगानी गर्ने कम्पनीहरू क्लालेरियम क्यापिटल, अ भेन्चर क्यापिटल फर्ममा पार्टन समेत रहेका छन् ।

उनले थाइल फाउण्डेसन नामक गैर-नाफामूखी संस्था स्थापना गरेका छन् । जसले वैज्ञानिक खोज र प्राविधिक आविष्कारलाई समर्थन गर्छ ।

यो पुस्तकमा थाइलले उनको योजनाले प्रविधिको भविष्यका लागि कसरी योगदान गरेको छ भन्ने कुरा उल्लेख गरेका छन् । यसमा थाइलले कुनै पनि व्यवसाय नयाँ तरिकाले कसरी गर्न सकिन्छ भन्ने कुरामा जोड दिएका छन् । प्रविधिमा रुचि राखेर व्यवसाय गर्न चाहनेहरूले यो पुस्तकमा भएका विचारको सहयोग लिन सक्छन् ।

५.  हाउ गुगल वर्क्स

तपाईँलाई कुनै पनि जानकारी गुगलमा खोज्नुहुन्छ होला । प्रविधिमा रुचि राखेर व्यवसाय गर्न चाहनेहरूले कुनै कुराको जानकारी लिनु पर्दा गुगलमै सर्च  गरिरहेका हुन्छन् । यदि गुगलकै बारेमा जान्नु पर्‍यो भने कहाँ, केमा, कसरी खोज्नुहुन्छ ?

हामी अन्य प्लेटफर्मभन्दा गुगलमा आफ्नो धेरै बिताइरहेको हुनाले यसबारे धेरै कुरा थाहा हुन सक्छ । विशेषगरी यसका संस्थापक को हुन्, यसले कसरी काम गर्छ भन्ने कुराहरू जहाँकही पढ्न पाइन्छ ।

तर, कम्पनीले विश्वभर कसरी आफ्नो स्तर दिनानुदिन बढाउन सकिरहेको छ भन्ने कुरा ‘हाउ डज गुगल वर्क’ नामक पुस्तकमा पढ्न सकिन्छ । यसमा गुगलका अध्यक्ष एरिक श्मिट र उपाध्यक्ष जोनाथ रोजेनबर्गले कम्पनीको कथा सुनाएका छन् ।

‘हाउ डज गुगल वर्क्स’मा गुगलको ‘कर्पोरेट कल्चर’, कम्पनीले कसरी दक्ष व्यक्ति आकर्षित गरिरहेको छ भन्ने कुराको जानकारी, र गुगलले कसरी आफूमा आएका समस्या समाधान गरिरहेको छ भन्ने कुरा पढ्न पाइन्छ ।

६) द एभ्रिथिङ्ग स्टोर

ब्राड स्टोनद्वारा लिखित द एभ्रिथिङ्ग स्टोर पुस्तक जेफ बेजोसको जीवनीमा आधारित पहिलो पुस्तक हो । जेफ बेजसले व्यवसायको कुनै सीमा, परम्परा र निश्चित क्षेत्रको हुँदैन भन्ने कसरी थाहा पाए भन्ने कुरा यस पुस्तकमा उल्लेख गरिएको छ ।

यो पुस्तक एक कथाको संग्रह मात्र नभई अनुसन्धानको दस्तावेज पनि हो । यसमा अमेजनले कसरी विभिन्न देशमा आफूलाई र उद्योगलाई विस्तार गर्‍यो भन्ने कुरा उल्लेख गरिएको छ ।

यसमा कसरी अमेजन, अनलाइन शपिङ, रोबोटिक्स, क्लाउड प्रविधि, अन्तरिक्ष परियोजना र मिडिया कम्पनीका रूपमा व्यवस्थित छ भन्ने कुरा पढ्न पाइन्छ ।

७)        एलन मस्क

एलन मस्कको जीवनमा आधारित ‘टेस्ला, स्पेस एक्स, एन्ड द क्वेस्ट फर अ फेन्टास्टिक फ्युचर’ पुस्तकमा प्रविधि पत्रकार एश्ली भेन्सले एलन मस्कको जीवनी लेखेकी छिन् । सिलिकन भ्यालीका सबैभन्दा उच्च जोखिम लिने एक ‘व्यङ्ग्यात्मक उद्यमीले’ कसरी यतिका सफलता पाए भन्ने कुरा पुस्तकमा उल्लेख गरिएको छ ।

मस्कको अन्तर्वार्ता, उनका परिवार र साथीहरूबाट लिइएको जानकारीका आधारमा तयार पारिएको यो पुस्तकमा मस्कको बाल्यकालदेखि अहिलेको अवस्थासम्मको जानकारी दिइएको छ । आफ्नो व्यवसायलाई परीक्षण गरेर सफल बनाउन चाहनेहरूका लागि यो पुस्तक उपयोगी हुनसक्छ ।

८) द फेसबुक इफेक्ट

तपाईँलाई फेसबुक र मार्क जुकर्बर्ग त्यति मन नपर्न सक्छन् । तर, हार्भडबाट स्नातक गरेका जुकरबर्गले तयार पारेको ‘सामाजिक सञ्जाल’ले कसरी सञ्चारको क्षेत्रमा क्रान्तिकारी प्ररिवर्तन ल्यायो भन्ने कुरा जान्न धेरै व्यक्ति इच्छुक हुन सक्छन् ।

डेभिड क्रिकप्याट्रिकले लेखेको यो पुस्तकमा शीर्ष स्थानमा रहेको सामाजिक सञ्जाल फेसबुकको कथा छ । यसमा फेसबुक टिमको सफलता र असफलतालाई व्याख्या गरिएको छ । फेसबुक त्यस्तो कम्पनी हो, जो पैसा कमाउनका लागि तयार पारिएकै होइन भन्ने कुरा यो पुस्तकमा पढ्न पाइन्छ ।

९) अन्ली द पारानोइड सर्भाइभ

एन्ड्र्यू एस ग्रोभले लेखेको अन्ली द पारानोइड सर्भाइभ पुस्तकमा एउटा कम्पनीमा आएका चुनौती र समस्यालाई कसरी सामना गर्न सकिन्छ भन्ने कुरा उल्लेख गरिएको छ । पुस्तकका लेखक ग्रोभले इन्टेल कम्पनी सञ्चालन गरेका थिए ।

त्यही समयमा कम्पनीमा त्यसको अस्तित्व नै गुम्ने अवस्था वा भनौँ संकट आइपरेको थियो । यो पुस्तकमा ग्रोभले त्यही जटिल परिस्थितिबाट कम्पनीलाई कसरी बाहिर निकाले भन्ने कुरा उल्लेख गरेका छन् ।

१०) सामसङ राइजिङ

जियोफ्री सेनद्वारा लिखित सामसङ साइजिङ पुस्तकमा सामसङको विस्तृत कथा उल्लेख गरिएको छ । यो पुस्तकमा सामसङले एप्पलको साम्राज्यलाई पछि पार्न के कस्ता रणनीतिमा काम गरिरहेको छ भन्ने कुरा पढ्न पाइन्छ ।

त्यसैगरी सामसङले आफ्नो प्रतिद्वन्द्वी कम्पनी एप्पलसँग आफ्नो सम्बन्ध कसरी कायम गरिरहेको छ भन्ने कुरा पनि यो पुस्तकमा समावेश छ ।

बजारमा रहेका आफ्ना प्रतिद्वन्द्वीसँग कसरी मजबुत सम्बन्ध बनाएर अघि बढ्न सकिन्छ भन्ने कुरा यो पुस्तकबाट प्रस्ट हुन्छ । साथै लेखकले यसमा सामसङ कसरी सफल भयो, त्यसले कस्तो सङ्घर्षको समाना गर्नुपर्‍यो भन्ने कुरा उल्लेख गरेका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३