काठमाडौं । पछिल्लो समय कम्प्युटर तथा स्मार्टफोनको प्रयोग अत्यधिक बढेको छ । जसले गर्दा मानिसहरूले आफ्नो अधिक समय कम्प्युटर तथा स्मार्टफोनको स्क्रिन हेरेर बिताइरहेका हुन्छन् ।
एक रिपोर्ट अनुसार विभिन्न देशमा मानिसले दिनमा औसत छ घण्टादेखि १० घण्टासम्मको समय स्क्रिनमा बताउने गरेका छन् । कम्प्यारिटेकका अनुसार अमेरिकामा मात्र दैनिक एक व्यक्तिले औसतमा सात घण्टा चार मिनेट स्क्रिनमा हेरेर बिताउने गरेका छन् ।
यसरी अत्यधिक समय स्क्रिनमा हेरेर बिताउँदा यसले मानिसको स्वास्थ्यमा प्रतिकूल असर पारेको विभिन्न अध्ययनले देखाएका छन् । आज हामी रिसर्च गेट, हावार्ड युनिभर्सिटी जस्ता उत्कृष्ट संस्थाले तयार पारेको रिपोर्टका आधारमा धेरै समय कम्प्युटर वा मोबाइल स्क्रिनमा बिताउँदा स्वास्थ्यमा कस्ता असर पर्छ भन्ने विषयमा जानकारी दिँदैछौं ।
कम्प्युटर तथा मोबाइल स्क्रिनमा अधिक समय बिताउँदा किन स्वास्थ्यमा विभिन्न समस्या आउँछन् ? स्क्रिनमा अधिक समय बिताउँदा त्यसले आँखालाई कसरी असर गर्छ भन्ने धेरैको जिज्ञासा हुनसक्छ । तल उल्लेख गरिएका कारणले गर्दा स्क्रिनले आँखामा असर गर्छ ।
१) ब्लु लाइटको प्रभाव
कम्प्युटर वा मोबाइल जस्ता डिभाइसको स्क्रिनले ब्लु लाइट (निलो प्रकाश) उत्सर्जन गरिरहेको हुन्छ । यसरी ब्लु लाइट लगातार हाम्रो आँखामा पर्दा त्यसले रेटिना खराब गर्छ ।
आँखाको रेटिनामा लगातार ब्लुलाइट पर्दा आँखा दुख्ने, आँखा चलाउन समस्या हुने, टाउको दुख्ने जस्ता समस्या देखा पर्छन् ।
२) आँखा कम झिम्किने हुँदा समस्या निम्तिन्छ
स्क्रिनमा लगातार हेरिरहँदा हामी औसतभन्दा कम आँखा झिम्काउँछौँ । यसरी आँखा झिम्काइमा कमी भयो भने त्यसले आँखा सुक्खा बनाउँछ । यसरी आँखा बढी सुक्खा हुँदा त्यसले जलविन्दुको समस्या निम्तिन सक्छ ।
३) आँखाको मांसपेशीमा थकान
कम्प्युटर वा मोबाइलमा केन्द्रित हुँदा हाम्रो आँखाले बढी चाल गर्न पाउँदैन । यसरी आँखाको मांसपेशीमा थकान हुँदा त्यसले आँखा दुख्ने, टाउको दुख्ने जस्ता समस्या निम्त्याउँछ ।
४) आसन खराबी
हामी कम्प्युटर वा मोबाइल चलाउन बस्यौँ भने आफ्नो बसाइ ख्याल गर्दैनौँ । जसले गर्दा हाम्रो गर्धन, कुम जस्ता भागमा समस्या निम्तिन्छ ।
यसरी लामो समय स्क्रिनमा बिताउँदा हाम्रो ध्यान स्क्रिनमै बढी केन्द्रित हुन्छ । जसले गर्दा हामी हाम्रो बसाइ, हेराइ वा अन्य कुरामा केन्द्रित हुन पाउँदैनौँ । त्यसैले लामो समय स्क्रिनमा बिताउँदा आँखामा बढी समस्या हुन्छ ।
लामो समय स्क्रिनमा बिताउँदा स्वास्थ्यमा के कस्ता असर पर्छन् ?
१) आँखामा थकान र दृश्टीमा समस्या
स्क्रिनमा लामो समय हेर्दा त्यसबाट उत्सर्जन हुने ब्लु लाइटले आँखाको नानीलाई असर गर्छ । त्यसबाहेक पनि आँखा सुक्खा हुने, आँखाको नसा सुन्निने, जल विन्दु हुने, धमिलो देखिने, अदूर दृष्टि (टाढाको वस्तु नदेख्ने) लगायत आँखा सम्बन्धी अन्य समस्या निम्तिन्छन् ।
२) सुताइमा असर
तपाईंले याद गर्नु भएको होला, जुन दिन तपाईँ स्क्रिनमा कम समय बिताउनु हुन्छ, त्यो दिन छिटो निन्द्रा पर्छ । स्क्रिनमा बढी समय बिताउँदा त्यसले हाम्रो प्राकृतिक सुताइको चक्रलाई असर गर्छ ।
जसले गर्दा हामी ढिलो निदाउने र ढिलो बिउँझिने स्वभावका हुन्छौँ । स्क्रिनसँगै यसमा सामाजिक सञ्जालको अत्यधिक प्रयोग पनि जोडिएको हुन्छ ।
३) शारीरिक सक्रियता कम
कम्प्युटर वा मोबाइल स्क्रिनमा बढी समय बिताउँदा भौतिक शरीरले बढी चाल गर्न पाउँदैन । एउटा ठाउँमा लगातार लामो समय बसेर स्क्रिन हेरिरहँदा त्यसले मुटु रोग, चिनी रोग, मोटोपन जस्ता समस्या निम्त्याउँछ ।
४) शरीरमा समस्या
लामो समयसम्म स्क्रिनमा बिताउँदा शारीरिक स्वास्थ्यमा समस्या निम्त्याउन सक्छ । यस्तोमा घाँटी, ढाड, टाउको दुखाइ, र अन्य शारीरिक समस्या निम्तिन सक्छ ।
५) मानसिक स्वास्थ्यमा असर
अधिक समय स्क्रिनमा बिताउँदा त्यसको असर अप्रत्यक्ष रूपमा मानसिक स्वास्थ्यमा पनि पर्छ । यस्तोमा डिप्रेसन, तनाब, एक्लोपनको समस्या हुने जोखिम बढी हुन्छ । विशेष गरी लामो समयसम्म सामाजिक सञ्जाल प्रयोग गर्दा यस्ता मानसिक रोग लाग्ने जोखिम हुन्छ ।
६) सामाजिक सीपमा कमी
जति समय हामी स्क्रिनमा बिताउँदै जान्छौँ, हाम्रो सामाजिक सीप घट्दै जान्छ । विशेष गरी बालबालिकामा यसको जोखिम बढी हुन्छ ।
समाजको मूल्य मान्यता बुझ्ने, आफन्त वा छर छिमेकसँग मधुर सम्बन्ध बनाउने समयमा एकोहोरो कम्प्युटर वा मोबाइलको स्क्रिनमा बिताउँदा यस्ता व्यवहारबाट पछि पर्ने सम्भावना बढी हुन्छ ।
यस्तोमा बालबालिका वास्तविकभन्दा भर्चुअल संसारमा बढी रमाउने स्वभावका हुन्छन् । स्क्रिनमा धेरै समय बिताउँदा स्वास्थ्य, समाज आदिमा प्रतिकूल असर पर्ने भए पनि मध्यम समय बिताउँदा त्यसले कुनै हानी गर्दैन ।
त्यसो त इन्टरनेट तथा सामाजिक सञ्जालका आफ्नै फाइदाहरू छन् । तर, अधिक समय त्यसैमा व्यस्त हुन थाल्यौँ भने नकारात्मक असरहरू देखिने विज्ञहरू बताउँछन् ।
त्यसबाहेको पनि हाम्रो स्वास्थ्यमा स्क्रिनको नकारात्मक असर कम गर्न ब्लु कट ग्लास प्रयोग गर्ने, आँखाको व्यायाम गर्ने, समयमा सुत्ने र समयमै उठ्ने गर्न सक्छौँ । स्क्रिन धेरै प्रयोग गर्नुपर्ने काम छ भने हरेक आधा घण्टामा ब्रेक लिएर केही मिनेट आँखा चिम्म गर्ने वा बढी चलाउने, स्क्रिनमा एकोहोरो नहेर्ने बानीले स्वास्थ्यमा पर्नसक्ने नकारात्मक असर कम पर्छ ।
साथै स्क्रिनमा बढी समय बिताउँदा हाम्रो आँखा दुख्ने समस्या आइरहेको हुन्छ । यस्तोमा हामी बजारमा पाइने जुनसुकै लिक्विड (आँखामा राख्ने झोल औषधी) प्रयोग गर्न तयार हुन्छौं ।
आँखाको जाँच नगरी थाहा नभएको लिक्विड प्रयोग गर्दा जल विन्दुको समस्या हुने डाक्टरको सुझाव छ ।