close

नेपालमा क्रिप्टो माइनिङ गरी विदेश आपूर्ति गर्न किन दिँदैन सरकार ?

टेकपाना टेकपाना

चैत २१, २०७९ १४:५८

नेपालमा क्रिप्टो माइनिङ गरी विदेश आपूर्ति गर्न किन दिँदैन सरकार ?

काठमाडौं । कतिपय देशमा क्रिप्टोकरेन्सी खुला रहेको र एलसाल्भाडोर जस्ता केही देशले त्यसलाई वैधानिकता नै दिएका छन् । कजाखस्थान जस्ता देश क्रिप्टोकरेन्सी माइनिङ हब नै बनेका छन् । 

तर नेपालमा भने क्रिप्टोकरेन्सीको कारोबार र माइनिङ दुवैमा प्रतिबन्ध लागेको छ । यसको पछाडि अवैध कार्यमा क्रिप्टोकरेन्सी दुरुपयोग हुनसक्ने र लगानी बाहिरिने जोखिम कारोबार प्रतिबन्धित हुनुको प्रमुख कारणको रुपमा हेरिएको छ । 

कारोबारमा प्रतिबन्ध लागे पनि नेपालमै विद्युत खपत बढाउन क्रिप्टोकरेन्सी माइनिङ गर्न र क्रिप्टोकरेन्सी विदेश पठाएर आम्दानी गर्ने बाटो खुला राख्नुपर्ने मागहरू समेत बेलाबेलामा सुनिने गरेका छन् । यस्तोमा नेपालमा क्रिप्टो माइनिङ गर्न किन रोक लगाइएको छ र यसलाई खुला गर्नुपर्छ कि पर्दैन भन्ने जस्ता प्रश्न उठ्नु स्वाभाविकै हो । 

माइनिङ कार्यमा प्रतिस्पर्धा हुन्छ र सफल हुने माइनरले पारिश्रमिक स्वरुप क्रिप्टोकरेन्सी प्राप्त गर्छन् । नेपालमा जलविद्युतको राम्रो सम्भावना भए पनि माइनिङबाट प्रतिफल प्राप्त हुने तथा आय आर्जन हुने भन्ने विषयलाई विभिन्न तत्वले असर गर्छन् । 

जसमध्ये ऊर्जा पनि एक हो । माइनिङ कार्यबाट प्रतिफल निर्धारण हुने तत्त्वहरूमा सो समयमा सहभागी रहेका तथा भविष्यमा सहभागी हुने माइनरहरूको संख्या, माइनिङमा प्रयोग हुने कम्प्युटरको क्षमता (ह्याश रेट) र सफल माइनिङ हुँदा प्राप्त हुने क्रिप्टोकरेन्सीको परिमाण (ब्लक रिवार्ड-ह्याल्भिङ) हुन्छन् ।

त्यस्तै ऊर्जाको खपत, ऊर्जाको मूल्य, समूह अथवा पुलमार्फत् माइनिङ गरिएको हो भने त्यस्तो पुलिङ कार्यमा लाग्ने खर्च, सफल माइनिङ गरी प्राप्त भएको क्रिप्टोकरेन्सीको बजार मूल्य आदि पनि पर्छन् । 

कुनै वस्तु उत्पादन गर्दा विभिन्न लागत भए जस्तै माइनिङ कार्यको ऊर्जा पनि एउटा लागत पक्ष हो । वस्तु उत्पादन पश्चात् उद्यमीले बिक्री मूल्यबाट खर्च कटाएर नाफा गरे जस्तै माइनरले प्राप्त गर्ने पारिश्रमिकको मूल्य समेत विभिन्न तत्वहरूमा निर्भर रहन्छ ।

नेपालमा श्रम, ऊर्जा लगायत केही औद्योगिक कच्चा पदार्थहरूको उपलब्धता तथा मूल्यमा तुलनात्मक लाभ छ । त्यसका बाबजुद नेपाल विश्व उत्पादनको केन्द्र बन्न नसक्नुमा अन्य विभिन्न तत्वहरूले असर गरेका छन् । 

त्यसैगरी नेपालमा जलविद्युत सम्भावनाको एउटा आधारमा मात्रै सर्वसाधारण नेपालीहरू क्रिप्टोकरेन्सीको माइनिङ कार्यमा सहभागी भएर आय आर्जन हुन्छ भन्ने कुनै सुनिश्चितता नहुने राष्ट्र बैंकको तर्क छ ।

“साथै, नेपालमा कुनै वस्तु उपभोग तथा प्रयोग गर्न प्रतिबन्ध लगाएर त्यस्तो वस्तु नेपालमा उत्पादन गरी विश्व बजारमा आपूर्ति गर्ने कार्य समेत विद्यमान विश्व व्यापार सम्बन्धी मर्म तथा नैतिकताको सवालमा जायज हुँदैन,” राष्ट्र बैंकले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

पछिल्लो अध्यावधिक: चैत २१, २०७९ १४:५८