close

महावीर पुनका जायज माग पूरा गर्न सांसदले गराए सरकारको ध्यानाकर्षण

टेकपाना टेकपाना

बैशाख १५, २०८० १५:१९

महावीर पुनका जायज माग पूरा गर्न सांसदले गराए सरकारको ध्यानाकर्षण

काठमाडौं । अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा  बुँदे माग राख्दै महावीर पुनले सुरु गरेको ‘सामाजिक जनआन्दोलन’ लाई लिएर संसदमा आवाज उठेको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसदहरू वासुदेव घिमिरे र शिशिर खनालले पुनका जायज माग पूरा गर्न सरकारलाई आग्रह गरे ।

अनुसन्धानमा लागेका व्यक्तिलाई आन्दोलन गर्न नभई प्रोत्साहन गर्ने वातावरण बनाइनुपर्ने सांसद वासुदेव घिमिरेले माग राखेका छन् ।

"राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन नेपालका लागि गहना हुनुहन्छ । उहाँले अनुसन्धानको क्षेत्रमा गरेको योगदान आफैमा प्रंशनिय छ," घिमिरेले भने, "अनुसन्धान र आविष्कारको क्षेत्रमा उहाँले सरकारलाई प्रभावकारी काम गर्नको लागि माग राख्दै आउनुभएको थियो । तर उहाँको मागलाई सरकार सुनेन ।"

अनुसन्धान, आविष्कार र नवप्रवर्तनको क्षेत्रमा काम गर्ने प्रतिभाशाली नेपालीहरूलाई ठोस सहयोग गर्न हरेर वर्ष प्रदेश र संघिय सरकारले नवप्रवर्तन र आविष्कार कोषमा जम्मा गर्नुपर्ने, उक्त कोषमा जम्मा भएको रकम सहज तरिकाले उपलब्ध गराउन अनुसन्धान, नवप्रवर्तन र आविष्कार खरिद ऐन बनाउनुपर्ने लगायतका मागहरू जायज भएको उनले बताएका छन् ।

साथै महावीर पुनले राखेका जायज माग पूरा गर्न सरकार तयार हुनुपर्ने कुरामा उनले जोड दिएका थिए । त्यस्तै नेपालमै अनुसन्धान र आविष्कारको क्षेत्रमा लागेका युवाहरूलाई सरकारले आन्दोलन गर्ने वातावरण नभई प्रोत्साहन गर्ने वातावरण तयार गर्न उनले माग राखेका थिए ।

यस्तै बैठकमा बोल्दै अर्का सांसद शिशिर खनालले अन्तर्राष्ट्रिय अध्ययनहरूले आर्थिक विकास र अनुसन्धानमा हुने लगानीबीच प्रत्यक्ष सम्बन्ध हुने कुरा उल्लेख भएको भन्दै नेपालमा भने लगानीको क्षेत्रमा पर्याप्त अनुसन्धान हुन नसकेको धारणा राखे ।

"विज्ञान र प्रविधिमा हाम्रो चालू आर्थिक वर्षको कूल बजेटको मात्र ०.०८ प्रतिशत मात्र छुट्याइएको छ, जुन हाम्रो जीडीपीको ०.०२९ प्रतिशत मात्र हो," उनले भने, "भारतले १ प्रतिशत, चीनले साढे २ प्रतिशत र इजरायलले साढे पाँच प्रतिशत रिसर्चमा लागनी गर्ने गर्छन् ।"

नेपाल सरकारले हरेक वर्ष नवप्रवर्तन र युवा उद्यमशीलताको कार्यक्रम राख्ने गरेपनि विगत सात वर्षमा कुनै पनि कार्यक्रम कार्यान्वयनमा नआएको उनकाे गुनासाे थियाे ।

पछिल्लो अध्यावधिक: बैशाख १५, २०८० १५:५२