close

सञ्चारमन्त्री रेखा शर्मासँग भर्चुअल संवाद गर्न सकिने, यस्तो छ तरिका

टेकपाना टेकपाना

जेठ २३, २०८० १३:१७

सञ्चारमन्त्री रेखा शर्मासँग भर्चुअल संवाद गर्न सकिने, यस्तो छ तरिका

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग जुनसुकै ठाउँमा बसेर पनि भर्चुअल संवाद गर्न सकिने भएको छ । मन्त्रालयबाट हुने कार्य सम्पादनलाई प्रभावकारी बनाउन नागरिकका सुझाव र गुनासो सहज प्राप्त होस् भनेर यस्तो व्यवस्था गरिएको हो ।

यसका लागि मन्त्रालयको वेबसाइटमा ‘मन्त्रीसँग भर्चुअल संवाद’ फिचर थप गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको वेबसाइटमा गएर मन्त्रीसँग भर्चुअल कुरा गर्न सकिन्छ ।

यस फिचर मार्फत देशका जुनसुकै कुनाबाट पनि गुनासो र सुझाव प्राप्त गर्न सकिने मन्त्रालयको विश्वास छ । “मन्त्रालयमा दैनिक भेट गर्न आउनेहरूको चाप धेरै छ, जसमा अधिकांशले अत्यावश्यक तर सानासाना गुनासो लिएर आएका हुन्छन्,” मन्त्रालयका प्रवक्ता नेत्र सुवेदीले भने, “त्यस्तो गुनासो सेवाग्राहीले अनलाइनबाट पठाउन सकुन् र मन्त्रालय नपुगेर पनि देशका जुनसुकै कुनाबाट गुनासो र सुझाव दिन सकुन् भनेर यो प्लेटफर्मको व्यवस्था गरिएको हो ।”

मन्त्रीको सञ्चार सचिवालयबाट सम्बन्धित निकाय पक्षसँग समन्वय गरी जिज्ञासाको सम्बोधन साप्ताहिक रूपमा गर्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ । “सकेसम्म त्यस्ता सुझाव वा गुनासो मन्त्रालयसँगै केन्द्रित रहेर आएमा सम्बोधन गर्न सजिलो हुनेछ,” प्रवक्ता सुवेदी अगाडि भने, “मन्त्री सरकारको प्रवक्ता पनि भएकाले सिङ्गो सरकारसँग जोडिएका नीतिगत सुझाव पनि दिन सकिने छ ।”

मन्त्री शर्मासँग कसरी भर्चुअल कुराकानी गर्ने ?

- सबैभन्दा पहिले यहाँ क्लिक गरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको वेबसाइटमा जानुहोस् । 

- त्यसपछि पेज स्क्रोल गर्दै तल जानुहोस् गएर ‘मन्त्रीसँग भर्चुअल सम्बाद’ सेक्सनमा जानुहोस् र मन्त्रीलाई ‘आफ्नो कुरा लेख्नुहोस्’को अप्सनमा ट्याप गर्नुहोस् । वा  सोझै यहाँ क्लिक गरेर मन्त्रीलाई आफ्नो कुरा लेख्ने पेजमा जानुहोस् ।

- त्यसपछि आफ्नो नाम, सम्पर्क नम्बर, ईमेल, ठेगाना र आफूले मन्त्रीलाई पठाउन चाहेको सन्देश लेख्नुहोस् । 

- अनि, सन्देशको बक्स तल रहेको ‘क्याप्चा कोड प्रविष्ट गर्नुहोस्’मा माथि देखाइएको कोड राख्नुहोस् ।

- यति गरेपछि ‘पेश गर्नुहोस्’को बटन प्रस्ट देखिन्छ । उक्त बटनमा ट्याप गरेपछि तपाईंको सन्देश मन्त्रीमा पुग्छ ।

पछिल्लो अध्यावधिक: जेठ २३, २०८० १३:१७