Daydream Biratnagar Hackathon 2025
- Organizer: Araniko Hack Club
किशोर किशोरीका लागि मोरङमा ‘डेड्रिम विराटनगर २०२५’ नामक ह्याकाथनको आयोजना हुने भएको छ । किशोर किशोरीहरूको अन्तर्राष्ट्रिय ह्याकिङ क्लब ‘ह्याक क्लब’ को सहयोगमा अरनिको ह्याक क्लबले विराटनगरमा आयोजना गर्न लागेको हो ।
ह्याकथन २७ सेप्टेम्बरमा सुरु भएर २८ सेप्टेम्बरसम्म चल्ने छ । कार्यक्रम सञ्चालनका लागि भेन्यु तयार गर्ने काम भइरहेको ह्याकथनका संयोजक आर्जन चौधरीले बताए । उक्थ ह्याकाथनमा अनलाइनबाट नि:शुल्क नाम दर्ता गराउन सक्ने उनले बताए । एक जनादेखि तीन जनासम्मको समूह बनाएर नाम टिपाउन सकिने छ । उनले भने, “टिनएजर्सहरूलाई नयाँ नयाँ कुरा सिक्ने अवसर प्रदान होस् भनेर ह्याकाथनको आयोजना गर्न लागिएको हो ।”
१९ वर्षभन्दा कम उमेरका किशोर किशोरीले ह्याकाथनमा सहभागिता जनाउन सक्नेछन् । नेपालका जुनसुकै स्थानबाट र ह्याकिङमा अनुभव नभएका किशोर किशोरीले पनि सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ ।
तर आउने जाने खर्च भने स्वयमँले ब्यहोर्नु पर्ने संयोजक चौधरीले बताए । उनले भने, “नेपालभरी बाट नै आउनु हुनेलाई हामी स्पोन्सर गर्न त सक्दैनौँ । तर, राम्रो प्रोजेक्ट गरेको र सम्भावना भएका व्यक्तिहरू हुनुहुन्छ भने आयोजकले केही गर्न सक्छ की भनेर कन्सिडर गर्न चाहिँ सकिन्छ ।”
ह्याकाथनको थिमको बारेमा भने कार्यक्रम सुरु भएपछि मात्र जानकारी दिने र छोटो समयमा नै उत्कृष्ट प्रोजेक्ट सोचेर तयार पार्नुपर्ने चुनौती सहभागीहरूलाई दिइने उनको भनाइ छ । उनले भने, “हामी कार्यक्रम सुरु हुने बित्तिकै सहभागीहरूलाई थिमको बारेमा जानकारी दिने छौँ । त्यसपछि उनीहरूसँग प्रतिस्पर्धा सुरु हुनुभन्दा पहिला करिब तीन घण्टाका लागि आइडिया सोच्ने अवसर मिल्ने छ ।”
२७ सेप्टेम्बरबाट सुरु हुने कार्यक्रमका सहभागीहरूलाई सो रात भेन्यु रहेको स्थानमा नै बस्ने व्यवस्था समेत मिलाइने उनले बताए । २८ सेप्टेम्बरमा प्रतियोगिताको बिजेताहरू घोषणा गरिने छ । उक्त ह्याकाथनमा कुल १५ लाखको प्राइज पुल राखिएको छ । जसमध्ये उत्कृष्टहरूलाई नगद राशि दिने वा अन्य उपहार दिने भन्ने बारे भने निर्णय लिन बाँकी नै रहेको उनले बताए ।
ह्याक क्लबले संसारका सय भन्दा धेरै स्थानमा ह्याकाथन सञ्चालन गरिरहेको छ । डेड्रिम विराटनगरमा उत्कृष्ट हुने किशोर किशोरीले ह्याक क्लबले सञ्चालन गर्ने ग्लोबल फिनालेमा पनि सहभागी हुने मौका पाउने उनको भनाइ छ ।
