close
Lumbini Tech Month 2082
  • Organizer: CSIT Association of Butwal Multiple Campus

काठमाडौँ । लुम्बिनी प्रदेशमा आगामी १ माघदेखि २ फागुनसम्म एक महिना लामो ‘लुम्बिनी टेक मन्थ २०८२’ आयोजना हुने भएको छ । बुटवल बहुमुखी क्याम्पस सीएसआईटी एसोसिएसनको आयोजनामा हुन लागेको यस कार्यक्रम विशेषगरी सूचना प्रविधि क्षेत्रमा रुचि राख्ने विद्यार्थीहरूलाई लक्षित गरिएको छ ।

सीएसआईटी एसोसिएसनका सभापति संचित पाण्डेका अनुसार टेक मन्थ अन्तर्गत तीन हप्ता अनलाइन र एक हप्ता भौतिक उपस्थितिमा वर्कशप सञ्चालन गरिनेछ । कार्यक्रममा कोडिङदेखि व्यक्तित्व विकाससम्मका विभिन्न सीप सिकाइनेछ ।

अनलाइन वर्कशपलाई तीन भागमा विभाजन गरिएको छ- कोड विक, नो-कोड विक र पर्सनल डेभलपमेन्ट विक । पाण्डेका अनुसार कोड विकमा प्रोग्रामिङ र डिजिटल प्रविधिसम्बन्धी विशेष तालिम दिइनेछ । त्यस्तै, नो-कोड विकमा कोडिङको ज्ञान बिना नै विभिन्न डिजिटल टुल प्रयोग गरेर समस्याको समाधान खोज्न सिकाइनेछ भने पर्सनल डेभलपमेन्ट विकमा करियर गाइडलाइन र नेतृत्व विकासमा जोड दिइनेछ । यसका साथै सहभागीहरूका लागि ‘टेक ट्रेजर हन्ट’ प्रतियोगिता समेत आयोजना गरिनेछ ।

टेक मन्थको अन्तिम साता बुटवलस्थित उमाई गार्डेन रिसोर्टमा भौतिक कार्यशाला सञ्चालन हुनेछ । ६ दिनसम्म चल्ने उक्त सेसनहरूमा प्रत्यक्ष सहभागिता रहनेछ । कार्यक्रमको समापन समारोहमा विभिन्न आईटी कम्पनीका विज्ञ, प्राध्यापक र उद्योग क्षेत्रका व्यक्तिहरूबिच प्यानल छलफल गराइने तयारी छ ।

अनलाइनबाट दिइने तालिमहरू निःशुल्क हुने र यसमा देशभरका इच्छुक विद्यार्थीहरू सहभागी हुन सक्ने सभापति पाण्डेले जानकारी दिए । बुटवलमा हुने भौतिक कार्यशालामा भने जान सक्ने विद्यार्थीहरू मात्र सहभागी हुन पाउनेछन् । जसका लागि ३०० रुपैयाँ शुल्क तोकिएको छ । इच्छुक विद्यार्थीले यहाँ क्लिक गरेर आफ्नो नाम दर्ता गराउन सक्नेछन् ।

टेक मन्थको समापनपछि उत्कृष्ट १०० जना सहभागीलाई एक महिना लामो डेटा फेलोशिप कार्यक्रमका लागि छात्रवृत्ति प्रदान गरिनेछ । यो फेलोशिपका लागि ‘डेटाक्याम्प’ सँग सहकार्य गरिएको आयोजकले जनाएको छ ।