काठमाडौं । जुन काम महँगा उपकरणले गर्न सक्दैनन्, त्यो काम मोबाइल एपले नै गरिदिएको छ भन्दा तपाईँलाई अनौठो लाग्न सक्छ । किन कि महँगा स्क्रिनिङ उपकरणको अभावमा विश्वभर लाखौँ बालबालिकाको ज्यान जाने गरेको छ ।
युनिभर्सिटी कलेज लन्डनका चिकित्सक तथा इन्जिनियरहरूले बनाएको एउटा एप नवजात शिशुका लागि जीवन रक्षक बनिरहेको छ । करिब दर्जनौँ शिशुको ज्यान जोगाउने यो एपलाई नियोएससीबी नाम दिइएको छ ।
नियोएससीबी एउटा स्मार्टफोन एप हो, जसले नवजात शिशुको आँखाको स्क्यान गरी गम्भिर प्रकृतिको जन्डिस पहिचान गर्दछ । यो एप त्यस्ता क्षेत्रमा एउटा जीवन रक्षक सावित हुनसक्छ, जहाँ स्क्रिनिङ उपकरणहरूको उपलब्धता र पहुँच छैन ।
नियोएससीबी एपले घानामा ३०० भन्दा बढी नवजात शिशुहरूमा जन्डिस पहिचानका लागि प्रयोग गरिएको थियो । २०२० मा पाइलट प्रोजेक्टको रुपमा यो एपलाई लिएर युनिभर्सिटी कलेज लन्डन अस्पताल (यूसीएलएच) का ३७ नवजात शिशुमा अध्ययन गरिएको थियो ।
उक्त अध्ययनको क्रममा आँखाको सेतो हिस्सामा रहेको पहेँलोपन मापन गर्नका लागि स्मार्टफोन क्यामेराबाट लिइएका तस्वीरहरूको विश्लेषण गरिएको थियो । जसबाट बालबालिकामा जन्डिस रहेको पत्ता लागेको थियो ।
रिसर्चगेटमा प्रकाशित रिपोर्ट अनुसार नियोएससीबी एपमार्फत नवजात अवस्थामा लाग्ने जन्डिस शीघ्र पहिचान गर्न सकिन्छ, जसका लागि उपचारको आवश्यकता हुने गर्दछ । एपबाट ३३६ शिशुमा गरिएको परीक्षणबाट ७९ गम्भीर रुपमा जन्डिस पीडित पाइएका थिए । साथै एपले ती मध्ये ७४ को सही पहिचान गर्न सफल भएको थियो ।
रिपोर्टअनुसार नियोएससीबी एप त्यति नै प्रभावकारी छ, जति महँगा स्क्रिनिङ उपकरण हुने गर्दछन् । जसले नवजात शिशुहरूमा जन्डिस पहिचान गर्दछ । यो एप प्रयोग गर्नका लागि केवल स्मार्टफोन भए पुग्छ ।