close

टेलिग्रामः तपाईँ हामीले खल्तीमा बोकी रहेको 'डार्क वेब'

टेकपाना टेकपाना

भदौ २४, २०८१ २०:३०

टेलिग्रामः तपाईँ हामीले खल्तीमा बोकी रहेको 'डार्क वेब'

 

काठमाडौं । केही साताअघि टेलिग्रामका सह-संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) पाभेल दुरोभ फ्रान्सबाट पक्राउ परे । उनको गिरफ्तारीपछि टेलिग्रामको सञ्चालन तथा नियमनको विषयलाई लिएर बहस नै सुरु भयो ।

प्रहरीले उनीमाथि साइटमा गैरकानुनी कारोबार, लागु औषध तस्करी, ठगी तथा बाल यौन शोषणका तस्बिरहरू फैलाउन सहयोग पुर्‍याएको आरोपको आधारमा मुद्दा चलाइरहेको छ ।

अहिले उनी तत्कालका लागि धरौटीमा छुटेको समाचार अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा आइरहेका छन् । उनी कहिले छुटे भन्ने नखुलाइएको भएता पनि पक्राउ परेको केही दिनमा नै निश्चित सर्त पालना गर्ने गरी दुरोभलाई छाडिएको बताइएको छ । जसअनुसार उनी फ्रान्स बाहिर यात्रा गर्न पाउने छैनन् र एपको वर्तमान नीतिमा परिवर्तन ल्याउनु पर्नेछ । यद्यपि मुद्‍दा भने जारी नै रहेको छ । 

दुरोभ पक्राउ परेपछि टेलिग्रामले आफ्ना केही नीतिमा परिवर्तन समेत ल्याइसकेको छ । अहिले कुनै पनि च्याट अथवा ग्रुपमाथि जो कोही प्रयोगकर्ताले रिपोर्ट गर्न सक्छन् । यी परिवर्तन दुरोभ पक्राउपछि नै गरिएका हुन् ।

अवैध गतिविधि हुने टेलिग्राम एक्लो सामाजिक सञ्जाल भने होइन । अन्य प्लेटफर्ममा पनि त्यस्ता गतिविधि भइरहेका छन् भन्नेमा कुनै शङ्का छैन । तर फितलो नीतिका कारण ती प्लेटफर्मको तुलनामा टेलिग्राममा गैरकानुनी क्रियाकलाप बढी भइरहेका छन् । 

केही समय अघिसम्म कम्पनीले आफ्नो नियम र सर्तमा सबै टेलिग्राम च्याट सुरक्षित हुने र तिनमा कुनै प्रकारको हस्तक्षेप नगर्ने उल्लेख थियो । भलै यो नीति अहिले परिवर्तन भइसकेको छ । 

तर सोही नीतिले आपराधिक मनसाय भएकाहरूको हकमा टेलिग्राम स्वर्ग नै बनेको छ । यस बारेमा नियमनकारी निकायहरू समेत वर्षौँदेखि चिन्तित थिए ।

त्यस्तै सोही कुराले मोबाइलमा हुने एपहरू मध्ये टेलिग्राम निकै डरलाग्दो एप बनेको थियो । साइबर-सुरक्षा पोडकास्टर प्याट्रिक ग्रेले महिनौँ अघिदेखि टेलिग्रामलाई खल्तीमा बोकिएको ‘डार्क वेब’ भनेर बताउँदै आएका छन् ।

सामान्य भाषामा बुझ्दा डार्क वेब भन्नाले त्यस्तो इन्टरनेट हो, जसलाई चलाउन विशेष सफ्टवेयर अथवा ज्ञान चाहिन्छ । सन् २०११ मा ‘सिल्क रोड’ नामक गैरकानुनी ईकमर्स प्लेटफर्म सञ्चालन भएयता सोही प्रकारका वेबसाइट लगातार रूपमा प्रयोग हुँदै आइरहेका छन् । यस अर्थमा सिल्क रोडपछि इन्टरनेटको अवैध पक्षको रूपमा डार्क वेब स्थापित हुन आएको मान्न सकिन्छ । टेलिग्रामले त्यही डार्क वेबको काम गरिरहेको छ ।

टेलिग्रामका सीईओ दुरोभ पक्राउ पर्नुमा एपमा वर्षौंदेखि चलिरहेका अवैध हर्कतहरू कारण भएको पोडकास्टर ग्रेको बुझाई छ । “हामीले टेलिग्राम मार्फत भइरहेको बाल यौन दुर्व्यवहार जन्य सामग्रीको बारे, लागु पदार्थ बिक्रीको बारे, डार्क वेब स्तरका अपराधहरूको बारेमा कुरा गरिरहेका छौं, तर उनीहरू (टेलिग्राम) केही पनि गरिरहेका छैनन्,” उनले भनेका छन् ।

अपराधीहरूले डार्क वेब मन पराउँछन्, किनभने डार्क वेबले उनीहरूलाई गोपनीयता प्रदान गर्छ । यस वेबले इन्टरनेट ट्राफिकलाई संसारभर एक साथ छर्ने काम गर्छ, सोही कारण अपराधीहरूको लोकेसन गायब भए सरह हुन जान्छ । अनि कुनै पनि युजरनेम पछाडि वास्तविक व्यक्ति को छ भनेर यकिन गर्नु निकै चुनौतीपूर्ण हुन्छ । 

साइबर-सुरक्षा कम्पनी इन्टेल ४७१ का अनुसन्धानकर्ताहरूका अनुसार टेलिग्राम आउनु पूर्व डार्क वेब प्रयोग गरी होस्ट गरिएका अनलाइन मार्केट मार्फत आपराधिक क्रियाकलाप हुने गर्थे । तर कम सीप र ज्ञान भएका साइबर अपराधीहरूका लागि टेलिग्राम सबैभन्दा लोकप्रिय अनलाइन गन्तव्य बन्न पुग्यो । यो कुरालाई पुष्टि गर्ने थुप्रै उदाहरण छन्:

जस्तै: गत जुन महिनामा किलिन नामक ह्याकर समूहले बेलायतको नेसनल हेल्थ सर्भिस (एनएचएस) अस्पताललाई फिरौती मागेको थियो । तर त्यस बापतको रकम प्राप्त नभएपछि सो समूहले चोरी गरिएका रक्त परीक्षण सम्बन्धी डेटा आफ्नो डार्क वेब वेबसाइटको साटो टेलिग्राम च्यानलमार्फत सार्वजनिक गरी दिए । 

यति मात्र नभएर स्पेन र दक्षिण कोरियामा विद्यालय छात्राहरूको नक्कली नग्न तस्विरहरू बनाउन प्रयोग गरिएको डिप फेक सर्भिस पनि टेलिग्राममा उपलब्ध छ । 

यी त बाहिरका उदाहरण मात्र हुन् । नेपालमा पनि वनएक्स बेट, मेटा बेट, फिफिया, निजमेगन, एमएफओसीएल, फस्ट सोलार जस्ता अनलाइन बेटिङ तथा ठगी कार्य मौलाउनुमा टेलिग्रामको मुख्य भूमिका छ ।

अपत्यारिलो कुरा के छ भने आपराधिक गतिविधि सञ्चालन हुने कतिपय टेलिग्राम च्यानलहरू स्न्यापच्याटमा र केही लागु पदार्थ विक्रेताहरू इन्स्टाग्राममा पनि देखिएका छन् । यो कुरा बीबीसीका पत्रकार जो टिडीले बताएका हुन् । 

केही समय अघि एक ब्लगमार्फत लागु पदार्थ विक्रेताहरूले प्राय: अन्य सामाजिक सञ्जालमा आफ्नो टेलिग्राम च्यानलको प्रचार गरेर नयाँ प्रयोगकर्ताहरूलाई आकर्षित गरेको कुरा उनले खुलाएका थिए ।

उक्त ब्लगमा उनले परीक्षण गर्न त्यस्ता आपराधिक ग्रुपहरूमा जोडिएको अनुभव शेयर गरेका छन् । सुरुमा त्यस्ता ग्रुपमा अरूले जोडिदिएको र केही महिनाको अन्तरालमा नै उस्तै प्रकृतिका ८२ वटा च्यानलमा आफैं जोडिन पुगेको भन्दै उनले आफ्नो अनुभव व्यक्त गरेका छन् । 

ती ग्रुपहरूमा उनी आफैं जोडिएका भने होइनन् । टेलिग्रामको सेटिङले त्यस्तो भएको उनको बुझाई छ । तर उनले कस्तो सेटिङ हो भनेर चाहिँ खुलाएका छैनन् ।

जे होस्, यसले के देखाउँछ भने अवैध कार्य हुनुमा टेलिग्रामको भूमिका ठूलो छ । तर पर्याप्त प्रमाण नहुँदा अधिकारीहरूले समेत केही गर्न सकेका थिएनन् । किनकि टेलिग्रामले आफ्ना प्रयोगकर्ताहरूको बारे कसैलाई केही पनि सूचना दिँदैन ।

यसको कारण एपको सञ्चालन पद्धति र नियमन प्रक्रिया हो । जसले टेलिग्रामलाई त्यस्ता आपराधिक गतिविधिबारे मौन बनाई दिएको छ । यसले प्रहरीसँगको समन्वयमा पनि प्रभाव पारेको छ । किनकि प्लेटफर्मबाट अवैध सामग्रीहरू हटाउने र प्रमाणहरू प्रहरीलाई उपलब्ध गराउने कार्यमा टेलिग्रामले सहयोग नगरेको अधिकारीहरूले नै बताएका छन् । 

फ्रान्सेली प्रहरीले दिएको निराशाजनक अभिव्यक्तिले पनि नियमन पर्ने पक्षमा टेलिग्रामको यस्तो लापरवाह उजागर हुने गर्छ । फ्रान्सेली अधिकारीहरूले दायर गरेको अभियोग पत्रमा फ्रान्सेली र बेल्जियम प्रहरीलाई टेलिग्रामले सहयोग नगरेको कुरा उल्लेख छ । 

कतिपयले भने टेलिग्राम स्वयम्‌सँग प्रयोगकर्ताको डेटा नभएकाले आपराधिक तथा अनैतिक गतिविधि गर्नेहरूको विवरण प्रहरीलाई उपलब्ध नगराएको तर्क गर्छन् । त्यसो त गोपनीयताको हिसाबले उस्तै सशक्त मानिएका ह्वाट्सएप, सिग्नल जस्ता एपमा समेत उस्तै घटना भइरहेका छन् ।

यद्यपि, टेलिग्राममा गोप्य कुराकानी गर्न वैकल्पिक फिचर पनि रहेको छ । जसमा ह्वाट्सएप, सिग्नलमा जस्तै इन्ड टु इन्ड इन्क्रिप्सन लागु हुन्छ । अर्थात् दुई प्रयोगकर्ता बिचको कुराकानी अरू कसैले पनि हेर्न सक्दैन । तर यो फिचर टेलिग्राममा पूर्वनिर्धारित (डिफल्ट) हुँदैन । 

यदि प्रयोगकर्ताहरूले ‘प्राइभेट च्याट’मार्फत टेलिग्राम चलाए भने उनीहरूले थप गोपनीयता पाउँछन् । यतिसम्म कि ‘प्राइभेट च्याट’भित्र भएका कुराकानीहरू टेलिग्रामले समेत हेर्न सक्दैन । 

तथापि यो फिचर ग्रुप च्याटमा गरिने सबै कुराकानीमा लागु हुँदैन । पत्रकार टिडीले आफू जोडिएका अवैध च्यानलहरू धेरै जसोमा प्राइभेट अथवा सिक्रेट भनेर सेट नगरिएको बताएका छन् । टेलिग्रामले चाहेको खण्डमा प्रहरी समक्ष त्यस्ता च्याटहरू सजिलै बुझाउन सक्छ । तर, टेलिग्राम आफ्नो नियम तथा सर्त विपरीत गएर त्यस्तो कदम उठाउन चाहन्न । 

यस्तो सहयोगको कुरा यहीँ रोकिँदैन । प्रहरी तथा अन्य निकायहरूले अनलाइन प्लेटफर्म मार्फत बालबालिकाको नग्न तस्विर तथा भिडिओको प्रसारण रोक्न भनेर आयोजना गरिने कार्यक्रममा समेत टेलिग्रामले सहभागिता नजनाउने समाचार बीबीसीले लेखेको छ । 

फ्रान्सेली अधिकारीहरूले दुरोभमाथि लगाएको आरोपमध्ये  बाल यौन दुर्व्यवहार सामग्री रोकथाम गर्न आवश्यक सहयोग नगर्नु पनि एक हो । फ्रान्सेली बाल संरक्षण एजेन्सी अफमिनका महासचिव जीन मिशेल बर्निगाउडले दुरोभको गिरफ्तारीको मुख्य कारण नै बाल यौन दुर्व्यवहारको मुद्‍दामा आवश्यक सहयोग र समन्वय नगर्नु हो भनेर लिङ्क्डइनमा लेखेका छन् ।

यही कुराले कम्पनी विवादमा तानिएको हो । तर टेलिग्रामले आफ्नो प्लेटफर्म मार्फत हुन सक्ने सम्भावित अवैध कार्यलाई व्यापक रूपमा निगरानी गरिरहेको बताएको बीबीसीले लेखेको छ । टेलिग्रामले गत अगस्टमा मात्र बाल यौन दुर्व्यवहारलाई प्रवर्धन गर्ने खालका ४५ हजार ग्रुपहरूमाथि कारबाही बढाइएको दाबी गरेको बीबीसीमा उल्लेख छ । तर पत्रकार टिडीले भने यसबारे बुझ्ने क्रममा टेलिग्रामले कुनै प्रकारको प्रतिक्रिया नदिएको जनाएका छन् ।

अझ विश्वसनीयता र सुरक्षाको क्षेत्रमा काम गर्ने सफ्टवेयर कम्पनी सिन्डरका सहसंस्थापक ब्रायन फिसम्यानले त टेलिग्राम विगत एक दशकदेखि आतङ्कवादी सङ्गठन आईएसआईएसको अखडा बनेको आरोप नै लगाएका छन् । 

उनी भन्छन्, “टेलिग्राम फरक किसिमको प्लेटफर्म हो । बाल यौन दुर्व्यवहार सामग्री (सीएमएएम)ले पनि यसलाई केही फरक पारिरहेको छैन । यसले वर्षौंदेखि कानुन पालना गराउने पाटोमा बेवास्ता गरिरहेको छ ।”

यद्यपि टेलिग्रामसँग जोडिएको यो बहसलाई सकारात्मक रूपमा लिने जमात पनि रहेको छ । उनीहरूले टेलिग्रामको सञ्चालन पद्धति र दुरोभलाई लागेका तमाम आरोपबिच वाक स्वतन्त्रतालाई लिएर बहस छेडेका छन् ।

डिजिटल अधिकारको विषयमा आवाज उठाउने एक्सेस नाउ नामक संस्थाले त विज्ञप्ति नै जारी गरेर यो घटनाक्रमलाई चासोका साथ हेरिरहेको जनाएको छ । मानिसहरूले वाक स्वतन्त्रता र शान्तिपूर्ण भेला हुन पाउने अधिकार प्रयोग गर्न प्रयोग गर्ने प्लेटफर्मका कर्मचारीलाई गिरफ्तार गर्नाले मानव अधिकार हनन् हुने तथा अत्यधिक सेन्सरशिप हाबी हुन सक्ने एक्सेस नाउले जिकिर गरेको छ ।

टेलिग्राम आफैंले पनि बारम्बार एपको दुरुपयोग हुँदा एप अथवा मालिक जिम्मेवार छ भन्नु तर्कसङ्गत नहुने तर्क गर्दै आएको छ । त्यस्तै एक्स (ट्विटर)का मालिक एलन मस्कले पनि दुरोभको गिरफ्तारी भएपछि वाक स्वतन्त्रता माथि प्रहार भएको बताउँदै उनको रिहाइको माग गरेका थिए । 

खैर, टेलिग्राम वरपर घटिरहेको यो कुरा स्वतन्त्रता र नियमनको लडाईंसँग जोडिएको छ । सामान्यत: आपराधिक व्यक्तिहरू स्वतन्त्रता चाहन्छन् । आफ्नो काममा कसैले अवरोध नगरोस् भन्ने ठान्छन् । अर्कोतर्फ नियमनकारी निकाय ठ्याक्क त्यसको उल्टो चाहन्छन् ।

जे भए पनि जोकोही कानुनतः चल्नु आवश्यक छ । झुक्न थालिसकेको टेलिग्रामको पछिल्लो कदमबाट यस कुराको सङ्केत पाउन सकिन्छ ।

पछिल्लो अध्यावधिक: भदौ २४, २०८१ २०:३१