close
ICRTAI 2025
  • Organizer: Numa Digital Farm

काठमाडौँ । झापाको बिर्तामोडमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको सम्मेलन हुने भएको छ । नुमा डिजिटल फर्मको आयोजना तथा मेची बहुमुखी क्याम्पसको सह-आयोजनामा १४ र १५ असारमा दुई दिने सम्मेलन हुन लागेको हो ।

‘इन्टरनेसनल कन्फरेन्स अन रिसेन्ट ट्रेन्ड्स इन आर्टिफिसियल इन्टेलिजेन्स (ICRTAI 2025)’ नाम दिइएको यस सम्मेलनले विशेषगरी कृषि, स्वास्थ्य, शिक्षा र वित्तीय प्रविधि (फिनटेक) को क्षेत्रमा एआईको प्रयोगलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ ।

सम्मेलनका संयोजक तथा मेची बहुमुखी क्याम्पसका आईटी विभाग प्रमुख सुनिल शर्माका अनुसार कार्यक्रममा नेपालका साथै अमेरिका, जापान, कोरिया र भारतका प्राध्यापक तथा विषय विज्ञहरूले रिसर्च पेपर प्रस्तुत गर्नेछन् । “यो हाइब्रिड ढाँचाको सम्मेलन हो जहाँ विदेशी विज्ञहरूले भौतिक तथा भर्चुअल माध्यमबाट आफ्नो प्रस्तुति राख्नुका साथै र अनुभव साट्नुहुनेछ,” शर्माले भने ।

दुई दिने सम्मेलनमा विज्ञहरूबाट मुख्य प्रस्तुति, ‘नेपालमा एआईको भविष्य’ शीर्षकमा प्यानल छलफल, विद्यार्थीका लागि आइडिया प्रस्तुत गर्ने अवसर, प्रोजेक्ट तथा सफ्टवेयर प्रदर्शनी र नेटवर्किङ जस्ता कार्यक्रम हुने शर्माले जानकारी दिए । कार्यक्रमले युवा आविष्कारक, अनुसन्धानकर्ता, स्टार्टअप, नीति निर्माता र विश्वभरका विज्ञहरूलाई एउटै मञ्चमा ल्याउने आयोजकको विश्वास छ ।

सम्मेलनमा सहभागी हुनका लागि आवेदन खुला गरिएको छ । कार्यक्रममा सहभागी हुन, रिसर्च पेपर वा पोस्टर प्रस्तुत गर्न तथा संस्थागत रूपमा भाग लिन चाहने सबैका लागि एकीकृत रूपमा पाँच हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ । संयोजक शर्माका अनुसार उक्त शुल्कमा दुई दिनको खाना, खाजा तथा सम्मेलन सामग्री समावेश हुनेछन् । तर बसोबासको व्यवस्था भने सहभागी आफैँले गर्नुपर्नेछ ।

शर्माले भने, “रिसर्च पेपर प्रस्तुत गर्न चाहनेहरूको लागि छनोट प्रक्रिया रहनेछ । तर सामान्य सहभागीका लागि भने दर्ता गरेर जो कोही पनि सामेल हुन सक्नुहुन्छ ।” इच्छुक व्यक्तिले यहाँ क्लिक गरेर वा कार्यक्रम स्थलमै भौतिक रूपमा उपस्थित भएर पनि दर्ता गर्न सक्नेछन् । दर्ता गरिसकेपछि आयोजकले नै सम्पर्क गर्नेछन् । 

सम्मेलनको प्रमुख संरक्षकमा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा. बिजुकुमार थपलिया रहेका छन् भने सम्मेलन अध्यक्ष (प्राज्ञिक) मा त्रिभुवन विश्वविद्यालय, आईटी इनोभेसन सेन्टरका निर्देशक प्राडा. सुवर्ण शाक्य छन् । यसैगरी काठमाडौँ विश्वविद्यालय, पोखरा विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय लगायत विभिन्न विश्वविद्यालयका प्राध्यापक तथा विज्ञहरू सल्लाहकार समितिमा रहेका छन् ।