close
अन्तर विद्यालय स्टिम प्रतिस्पर्धा हुँदै, यसरी गर्नुहोस् रजिस्ट्रेसन

अन्तर विद्यालय स्टिम प्रतिस्पर्धा हुँदै, यसरी गर्नुहोस् रजिस्ट्रेसन

  • Organizer: रोबोटेक नेपाल

काठमाडौँ । रोबोटेक नेपाल र ल्याबोरेटरी स्कुलको सहकार्यमा अन्तर विद्यालय स्टिम प्रतियोगिता हुने भएको छ । विद्यार्थीहरूमा रचनात्मकता, सोच र प्राविधिक सीपहरू प्रवर्धन गर्ने उद्देश्यका साथ १० साउन २०८२ मा ल्याबोरेटरी स्कुल कीर्तिपुरमा सो प्रतिस्पर्धा आयोजना हुने भएको हो ।

कार्यक्रम बिहान १०:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म सञ्चालन हुनेछ । आयोजक रोबोटेक नेपाल २०२० मा स्थापना भएको कम्पनी हो, जसले नेपालमा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित-स्टिम (STEM) कक्षा सञ्चालन गर्दै आएको छ । साथै यसले विद्यार्थीहरूलाई सिर्जनात्मकता र नवप्रवर्तनशीलतामा प्रेरित गर्न विद्यालय र कलेजहरूमा रोबोटिक्स र कोडिङ शिक्षा समेत प्रदान गर्दछ । हाल नेपालभर यसले ५० भन्दा बढी शैक्षिक संस्थासँग काम गरिरहेको छ ।

यो कार्यक्रम बालबालिका र विद्यालयहरूका लागि निकै उपयोगी रहेको कम्पनीले जनाएको छ । रोबोटेक नेपालका अनुसार यसले विद्यार्थीहरूको सिर्जनशीलता र नयाँ कुरा सिक्ने सीपलाई बढाउँछ । स्क्र्याच गेम विकास, ब्लुटुथ-कन्ट्रोल कार रेस र टावर निर्माण जस्ता प्रतियोगिताले विद्यार्थीहरूलाई रमाइलो गरी प्राविधिक सीप सिक्न र नयाँ विचार ल्याउन प्रेरित गर्छ ।

समूहमा काम गर्दा विद्यार्थीहरूले एकआपसमा सहयोग गर्न र समस्या समाधान गर्ने सीप सिक्छन् । यसले उनीहरूलाई आत्मविश्वासी बनाउँछ र आफ्नो क्षमताको पहिचान गर्न मद्दत गर्दछ । यस्ता प्रतियोगिताले विद्यार्थीहरूलाई पढाइका साथसाथै जीवनमा उपयोगी हुने सीप सिकाउने आयोजकले जनाएको छ ।

यो कार्यक्रममा कक्षा ४ देखि ९ सम्मका विद्यार्थीहरूलाई चुनौतीपूर्ण र आकर्षक वातावरणमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर मिल्नेछ ।

कार्यक्रम अन्तर्गत स्क्य्राच गेम डेभलपमेन्ट प्रतियोगिता आयोजना गरिनेछ । जसमा विद्यार्थीहरूले स्क्य्राच प्रयोग गरेर नवीन र अन्तरक्रियात्मक गेम डिजाइन र कोडिङ गर्नेछन् । खेलको विषयवस्तु कार्यक्रम स्थलमै खुलासा गरिने बताइएको छ । यसका लागि एक टोलीमा २ जना विद्यार्थी रहनेछन् ।

त्यस्तै ब्लुटुथ कन्ट्रोल्ड कार रेसका लागि टिमहरूले पूर्वनिर्धारित ट्र्याकमा आफैले बनाएका कारहरूलाई ब्लुटुथ मार्फत नियन्त्रण गरेर दौडाउनेछन् । यसमा पनि २ जना विद्यार्थी सम्मिलित टिमहरू रहनेछन् ।

त्यस्तै अर्को गेमको रूपमा टलेस्ट टावर कन्स्ट्रक्सन डिजाइन रहेको छ । जसमा विद्यार्थीहरूलाई प्रदान गरिएका टुथपिक र ग्लु गनको प्रयोग गरी सबैभन्दा अग्लो र स्थिर टावर निर्माण गर्ने प्रतिस्पर्धामा सामेल गराइनेछ । यसरी बनाइएको टावरले १ मिनेटको कम्पन परीक्षण सामना गर्नुपर्नेछ ।

यसमा भाग लिने टोलीमा भने ३ जना विद्यार्थी सदस्य रहनेछन् ।

कार्यक्रममा सहभागी हुन चाहने विद्यालयहरूले यहाँ क्लिक गरी फाराम भर्नु पर्नेछ । प्रत्येक टोलीका लागि एक हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ । विजेता टोलीले आकर्षक पुरस्कार समेत पाउने आयोजक रोबोटेक नेपालले जनाएको छ ।