- Organizer: Innovative Computer Engineering Student's Society (i-CES)
पोखरास्थित पश्चिमाञ्चल क्याम्पसमा आगामी २० पुसदेखि ‘टेकपर्व २०२६’ आयोजना हुने भएको छ । इनोभेटिभ कम्प्युटर इन्जिनियरिङ स्टुडेन्ट्स सोसाइटी (i-CES) को आयोजनामा तीन दिन लामो टेकपर्वको आयोजना हुन लागेको हो ।
कङ्गारू एजुकेसन फाउन्डेसनको प्रस्तुतिमा “थिङ्क बिगर, इनोभेट बोल्डर एन्ड बिकम बेटर” भन्ने नारासहित टेकपर्व आयोजना हुन लागेको आईसीईएसका अध्यक्ष उपेन्द्रराज जोशीले बताए । उनका अनुसार २० पुसमा ‘टेकपर्व ४.०’ को उद्घाटन हुनेछ । सोही दिन डेटा वर्कशप, क्याप्चर द फ्लाग प्रतिस्पर्धा सञ्चालन हुनेछ ।
यस्तै २१ पुसमा डेटाथन, डिजाइन इन्क्युबेसन प्रतिस्पर्धाको आयोजना हुनेछ । २२ गते कोड विथ कफी प्रतिस्पर्धाका साथै टेकपर्व ४.० को समापन समारोह आयोजना हुनेछ ।
‘डेटा वर्कशप’मा आर्टिफिसियल इन्टेलिजेन्स र मसिन लर्निङको क्षेत्रमा केन्द्रित रहेर वर्कशप प्रदान गरिनेछ । ‘क्याप्चर द फ्लाग’ भने साइबर सुरक्षासँग सम्बन्धित प्रतिस्पर्धा रहेको आयोजकले जनाएको छ । यसमा सहभागीहरूले समस्या समाधान गर्ने सीपको प्रयोग गर्दै विभिन्न संकेत र डेटाको माध्यमबाट लुकेका फ्ल्यागहरू पत्ता लगाउनुपर्ने छ ।
यस्तै ‘डेटाथन’मा सहभागीहरूले प्रतिस्पर्धामा दिइएको डेटाको विश्लेषण गरी लुकेका ढाँचाहरू पत्ता लगाउने तथा मसिन लर्निङ मोडेल तयार पार्ने काम गर्नेछन् । ‘डिजाइन इन्क्युबेसन’मा सहभागीहरूलाई युजर इन्टरफेस (यूआई) आकर्षक र प्रयोगकर्तामैत्री बनाउने सिद्धान्तहरू सिकाइने बताइएको छ ।
यस्तै, प्रोग्रामिङमा रुचि राख्ने विद्यार्थीहरूका लागि कोड विथ कफी प्रतिस्पर्धा आयोजना गर्न लागेको आयोजकले जनाएको छ । उक्त प्रतिस्पर्धाले सहभागीहरूलाई वास्तविक संसारका सफ्टवेयर इन्जिनियरिङमा रहेका चुनौतीहरूका लागि तयार पार्न सघाउने उद्देश्य राखेको बताइएको छ ।
टेकपर्वमा सहभागिता जनाउन प्रि-रजिस्ट्रेसन गर्नुपर्ने बताइएको छ । यहाँ क्लिक गरेर टेकपर्वमा इन्ट्री तथा विभिन्न प्रतिस्पर्धामा सहभागिता जनाउन फारम भर्न सकिनेछ । टेकपर्वमा इन्ट्रीका लागि प्रति व्यक्ति एक सय रुपैयाँ र प्रतियोगीतामा सहभागिता जनाउन हरेक प्रतिस्पर्धामा प्रति व्यक्ति एक सय रुपैयाँ शुल्क तोकिएको छ । टेकपर्वमा नेपाल भरीका सूचना प्रविधि क्षेत्रमा रुचि राख्ने व्यक्तिहरूले सहभागिता जनाउन सक्ने बताइएको छ ।
टेकपर्व सुरु हुनु भन्दा पहिला इनोभेटिभ कम्प्युटर इन्जिनियरिङ स्टुडेन्ट्स सोसाइटीले प्रि-इभेन्टहरू सञ्चालन गरिरहेको आईसीईएस अध्यक्ष जोशीले बताए । यसका लागि पोखराका विभिन्न कलेजहरूमा गएर एआई एमएल वर्कशप, साइबर सेक्युरिटी वर्कशप र डिजाइन वर्कशप, गुगलर, टाइप निन्जा, प्रम्प्ट मिमर, लगायतका कार्यक्रमहरू सञ्चालन भइरहेको उनले जानकारी दिए ।
